Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५७२औँ अंक

देशपरदेशको यो अंक गन्तव्य देशमा रहेका नेपाली दूतावासबाटै  पुनः श्रम स्वीकृति लिन मिल्ने विषयमा केन्द्रित छ । आम श्रमिक साथै घरेलु महिला श्रमिकले दूतावासबाटै के कसरी पुनः श्रम स्वीकृति लिन सक्छन् भन्ने कुरा कार्यक्रममा सुन्न सक्नुहुन्छ । यस्तै विदेशबाट अनलाइनमार्फत श्रम स्वीकृति लिंदा त्यहाँ काम गर्ने नेपालीले भोगेका सजिला र अप्ठेरा अनुभवलाई पनि समेटेका छौँ । अनलाइनबाट आवेदन दिंदा पासवर्ड थाहा नहुने, रिसेट गर्न इमेल र फोन नम्बर नमिल्ने समस्या धेरैले भोगिरहेका छन् । यस्तो समस्या समाधानको उपाय के छ त भन्ने जानकारीको लागि हामीले वैदेशिक रोजगार विभागको सूचना प्रविधि शाखाका निर्देशक रामहरी रेग्मीसँग कुराकानी पनि गरेका छौँ । साथमा आफ्नो पालिकाबाटै श्रम स्वीकृतिको आवेदन दिन मिल्ने व्यवस्थाबारेको जानकारी र हप्ताभरिका श्रम, रोजगार गतिविधि पनि कार्यक्रमा सुन्न सक्नुहुन्छ ।