Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक - ६१५

बैदेशिक रोजगार विभागले सन् २०२१ मा गरेको अनुसन्धान अनुसार विभिन्न बहानामा भारतको सिमाना पार हुँदै अथवा दिल्लीको बाटोबाट अरु देशमा जाने श्रमिकको संख्या ठुलो छ । यसरी अवैधरूपमा विदेशिनेहरुले दिनदिनै दुःख पाइरहेका छन्, अप्ठेरोमा परिरहेका छन्, अङ्गभङ्ग भइरहेका छन् भने कतिले त ज्यान नै गुमाएका छन् । गन्तव्य देशको बारेमा सहि जानकारी नभएकाले त्यहाँ पुगेर जे कामका लागि गएको हो त्यो काम नपाउने, भनेको जति तलब नपाउने, तलव नपाए स्वदेश फर्कन्छु भन्दा पनि बँधुवा मजदुर भएर काम गर्नुपर्ने जस्ता अप्ठ्याराहरु व्यहोर्नु परेको छ । आज पनि वैदेशिक रोजगारमा लगिने वा जाने व्यक्तिहरु कुनै न कुनै प्रकारले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परिरहेका छन् । कार्यक्रम देश परदेशको अंक ६१५ मा  हामीले बैदेशिक रोजगारीका क्रममा भइरहेको मानव बेचबिखन र यसबाट बच्ने उपायको विषयमा केन्द्रित रहेर महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह, नेपाल (एटविन) की कार्यकारी निर्देशक बेनु माया गुरुङ्गसँग कुराकानी गरेका छौं ।