Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक - ६११

मानसिक स्वास्थ्यलाई नेपालको संविधान २०७२ ले सबैका लागि स्वास्थ्य भनेर मौलिक हकमा राखी मानव अधिकारसँग जोडिसकेको छ । विज्ञहरुका अनुसार मानसिक समस्या दुई प्रकारका हुन्छन् । पहिलो चरणमा विभिन्न कारणले उदासिनताका रूपमा देखापर्छ र यसलाई समयमै उपचार नगर्दा मानसिक रोगमा परिणत हुन्छ । मानसिक समस्या पुरुषको तुलनामा महिलामा बढी देखापरेको विभिन्न अध्यनले देखाउँछ । त्यसैले स्थानीय तहबाटै मानसिक स्वास्थ्यबारे सचेतनाका कार्यक्रमहरु हुनुपर्छ भन्दै सुरक्षित आप्रवसन कार्यक्रम (सामी) ले स्थानीय निकायसँग मिलेर काम गरिरहेको छ । आजको कार्यक्रम सामी कार्यक्रमले गरिरहेका कामहरुमा केन्द्रित छ । कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले उपलब्ध गराएको मनोपरामर्श सेवा लिनुभएकी धादिङ्गकी रमलाको अनुभव साटफेर गर्नुभएको छ । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, धादिङ्गका मनोपरामर्शदाता रामकुमार थापाले अभिभावकले आफ्ना छोराछोरीलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या हुन नदिने उपायबारे बताउनुभएको छ । साथै, सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र र जिल्ला प्रशासन कार्यालय मिलेर कसरी काम गरिरहेको छ र आगामी दिनको योजनाबारे जिल्ला प्रशासन कार्यालय, धादिङ्गका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीसँगको कुराकानी समावेश छ ।