Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५८१औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५८१ वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनै पर्ने कुरा र अपनाउन पर्ने सावधानीमा केन्द्रित छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि सरकारले खुला गरेका देश र श्रम स्वीकृतिको प्रक्रियाबारे जानकारी कार्यक्रममा समावेश छ । युरोप रोजगारीको सपना देख्न थालेदेखि युरोप पुगिसकेपछि आइपर्ने अप्ठेरा र अपनाउनु पर्ने सावधानीबारे रोमानीयामा कार्यरत अर्घाखाँचीका गोपाल थापा क्षेत्री र कामका लागि खाडीका देशमा पुगेपछि हिँड्नु पर्ने अप्ठेरा बाटोहरूबारे यूएईमा १५ वर्ष काम गरेर फर्किनुभएका पाल्पाका नारायण कोइरालाको अनुभव कार्यक्रममा सुन्न सकिन्छ ।अनि, वैदेशिक रोजगारीमा जाने व्यक्ति र परिवारका सदस्यले वैदेशिक रोजगारीमा जाँदा ध्यान दिन पर्ने कुरा, विदेश पुगिसकेपछि अपनाउन पर्ने सावधानी र समस्या पर्दा सहयोग माग्ने विभिन्न निकायबारे जानकारी वैदेशिक रोजगार बोर्डको राष्ट्रिय आप्रवासी स्रोत केन्द्रका अधिकृत अञ्जली श्रेष्ठबाट ल्याएका छौँ । साथमा छ हप्ताभरिका श्रम तथा रोजगार गतिविधि पनि ।