Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५८३ औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५८३ मा अनौपचारिक र स्वरोजगार क्षेत्रमा पनि लागू गरिएको सामाजिक सुरक्षा योजना के कसरी लागू हुन्छ र श्रमिकको लागि बढाइएको न्यूनतम पारिश्रमिकबारे थप जानकारी समेटिएको छ । गएको साउन १ गतेदेखि नै लागू हुने गरी झण्डै एक महिनापछि अर्थात् साउन ३२ गते बढेको श्रमिकको पारिश्रमिक र यसको कार्यान्वयनबारे नालीबेली कार्यक्रममा समावेश छ । अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिहरूलाई समेत सरकारले सामाजिक सुरक्षा कोषमा समेट्न थालेको छ । कोषमा के कसरी आबद्ध हुने र यसका फाइदा के कस्ता रहेका छन् त भन्ने जानकारी कोषका उप निर्देशक तथा सह– प्रवक्ता रोहित रेग्मीबाट ल्याएका छौँ । साथमा छ, विदेशमा काम गरिरहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषबारे गर्ने गरेको गुनासो र त्यसको जवाफका साथै हप्ताभरिका श्रम तथा रोजगार गतिविधि पनि ।