बेइजिङ र संघाईलाई पछि पार्दै भारतको मुम्बई एशियाकै धेरै अर्बपति भएको शहर बन्यो

 चैत १५, २०८० बिहिबार ९:३:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : विकिपिडिया

भारतको मुम्बई एशियाकै सबैभन्दा धेरै अर्बपति भएको शहर भएको छ । चीनको बेइजिङ र संघाईलाई पछि पारेर मुम्बई सबैभन्दा धेरै अर्बपति भएको शहर बनेको हुरुन अध्ययन संस्थानको रिपोर्टलाई उल्लेख गर्दै सीएनबीसीले जनाएको छ ।

भारतको कुनै पनि शहर एसियाका सबैभन्दा धेरै अर्बपति भएको शहर बनेको यो पहिलो पटक हो । हुरुनका अनुसार मुम्बईमा ९२ जना अर्बपति रहेका छन् । बेईजिङमा ९१ जना र संघाईमा ८७ जना रहेका छन् । २०२४ को विश्वकै धनी शहरको सूचीमा अमेरिकाको न्यूयोर्क छ, जहाँ १ सय १९ जना अर्बपति बस्छन् ।

अहिले विश्वभर ३ हजार २ सय ७९ जना अर्बपति छन्, जुन सन् २०२३ को तुलनामा ५ प्रतिशतले धेरै छ । गएको वर्ष १ सय ५५ जना अर्बपतिले आफ्नो ठूलो सम्पत्ति गुमाए पनि चीन अझै पनि ८ सय १४ जना अर्बपतिहरूसहित सूचीको शीर्ष स्थानमै छ ।

अमेरिका ८ सय जना अर्बपतिसहित दोस्रो स्थानमा र भारत २ सय ७१ जना अर्बपतिसहित तेस्रो स्थानमा छ । अर्बपति भनेर १ अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब नेपाली रुपैयाँ हुने व्यक्तिलाई चिनिन्छ । भारतसहित विश्वका केही देशमा अर्बपतिको उदय र विस्तार तीव्र गतिमा बढिरहँदा गरिबी पनि उस्तै बढिरहेको छ । विश्वका १ प्रतिशत धनी मानिससँग विश्वभरको ४३ प्रतिशत सम्पत्ति रहेको अक्स्फामले जनाएको छ ।

धनी र गरिबबीचको यस्तै खाडल रहिरहेमा अर्को २ सय ५० वर्षसम्म पनि गरिबी उन्मूलन नहुने अक्स्फामको रिपोर्टमा उल्लेख छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया