दक्षिणपूर्वी एशियामा मानव बेचबिखनकाे अवस्था डरलाग्दो

 चैत १५, २०८० बिहिबार १२:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

दक्षिणपूर्वी एशियामा मानव बेचबिखन डरलाग्दो अवस्थामा पुगेको अन्तर्राष्ट्रिय आपराधिक प्रहरी सङ्गठन इन्टरपोलले जनाएको छ । महामारी र युद्धका कारण सङ्गठित अपराध र मानव बेचविखन बढेको र यसले अपराधको विश्वव्यापी नेटवर्क विस्तार भएको इन्टरपोललाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

इन्टरपोल महासचिव जुर्गन स्टकले एक दशकअघि र अहिलेको अवस्थालाई हेर्दा दक्षिणपूर्वी एसियामा सङ्गठित अपराध र मानव बेचबिखनको अवस्था विष्फोटकै तहमा पुगेको बताउनुभएको छ । रोजगारीको नाममा र साइबरमार्फत देखाइएका लोभमा परेर मानिसहरु बेचिने गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार अपराधीहरुले गएको वर्ष कम्बोडियामा १ लाख जनाभन्दा धेरै मानिसलाई अनलाइनमार्फत विभिन्न लोभ देखाएर बेचिएको वा अपराधमा संलग्न गराएका थिए । सङ्गठित अपराध, मानव बेचबिखन र लागूऔषध कारोबारबाट विश्वभर बर्सेनि ३ खर्ब डलरको कारोबार हुने गरेको छ ।

यो कारोबारमा दक्षिणपूर्वी एसियाको हिस्सा बढ्दै गएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया