उपचुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज

 चैत २७, २०८० मंगलबार ९:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी बेलुका ५ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने कार्यसूची छ । रिक्त रहेको प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क) मा आउँदो वैशाख १५ मा उपचुनाव हुँदैछ ।

विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी इलाम–२ मा २० जना र बझाङ १ (क) मा १२ जना गरी कुल ३२ जनाले गएको शनिवार उम्मेदवारी दर्ता गराएका थिए । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि इलाम–२ मा उपचुनाव हुन लागेको हो ।

उपचुनावका लागि इलाम–२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ मा झण्डै एक लाख १५ हजार ८ सय मतदाता छन् ।

त्यस्तै बझाङ प्रदेशसभा–१ (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो ।

आयोगले बझाङमा प्रदेशसभा सदस्य चुनावका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ । त्यहाँ ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया