राहुघाटमा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजना अन्तिम चरणमा

 बैशाख ८, २०८१ शनिबार १८:०:१२ | रासस
unn.prixa.net

रासस

म्याग्दी – रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँचवटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा सञ्चालित आयोजनाको क्षमता एक सय ६७ दशमलब ३ मेगावाट रहेको छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीनवटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार ५० प्रतिशत निर्माण सकिएको २२ दशमलब ५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र नै विद्युत् उत्पादनको तयारी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाको ६ किलोमिटर दुई सय ७० मिटरमध्ये करिब दुई सय ५० मिटर मात्र सुरुङ खन्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

भन्डै ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको राहुघाटबाट आगामी सन् २०२५ मार्चभित्र विद्युत् उत्पादन शुरु गर्ने कार्ययोजनासहित काम भइरहेको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिनुभयो । अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत् गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

झन्डै १४ अर्ब रुपैयाँ लागतमा २०७७ सालमा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएको थियो । मङ्गले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी गरिएको इञ्जिनियर तिमिल्सिनाले बताउनुभयो ।

संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको बताउनुभयो ।

२२ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको बताउनुभयो । उहाँकाअनुसार विद्युत् गृह निर्माण शुरु भएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ । माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ ।

सबस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्योलमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ बिमबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने एक सय ३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ तारिखमा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । 

३० महिना ठेक्का अवधि भएको आयोजनाको २६ महिना सकिँदा राहुघाटमा सबस्टेसन निर्माण शुरु नहुँदा म्याग्दीको जलविद्युत् क्षेत्रमा नकारात्मक असर परेको संविधानसभा सदस्य नवराज शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया