राष्ट्रपति पाैडेलद्वारा 'हिमालयन हाइड्रो एक्स्पो' काे उद्घाटन

‘बिजुली आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्त्वपूर्ण’

 बैशाख १३, २०८१ बिहिबार १५:३१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डाैकाे भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ काे आज उद्घाटन गर्नुभएकाे छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेलले नेपाल बिजुली आयात गर्ने देशबाट बिजुली निर्यात गर्ने देशको रूपमा परिणत हुनु महत्त्वपूर्ण रहेकाे बताउनुभयाे ।

नेपालले १० वर्षभित्र १० हजार मेगावाट बिजुली भारतमा बिक्रीका लागि बजार खुला गरिसकेको उल्लेख गर्दै राष्ट्रपतिले यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गर्नुभयाे । ‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट बिजुली उत्पादनका लागि राखिएका लक्ष्य हसिल हुन सम्भव छ’, उहाँले भन्नुभयाे ।

एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने राष्ट्रपति पाैडेलकाे भनाइ छ । हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न उहाँकाे आह्वान छ ।

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् विकासको प्रचुर सम्भावना नेपालको उन्नतिको महत्त्वपूर्ण आधार रहेको बताउनुभयाे । ‘आगामी १२ वर्षभित्र २८ हजार सात सय मेगावाट बिजुली उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको छ र यो महत्त्वाकाङ्क्षी जस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो’, उहाँले भन्नुभयाे ।

लगानीका लागि देशभित्रको स्रोतमात्र नभई वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको ऊर्जामन्त्री बस्नेतले बताउनुभयाे । अहिले संसदमा दर्ता भई दफावार छलफलमा रहेको विद्युत् विद्येयक चाँडो भन्दा चाँडो पारित भई कार्यान्वयनमा आउने उहाँकाे विश्वास छ ।

जलविद्युत् परियोजना विकासका लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने ऊर्जामन्त्रीले बताउनुभयाे । ‘परियोजनाका लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ’, उहाँले भन्नुभयाे । अहिले जलविद्युत् परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्दासमेत पेचिलो बन्दै गएको बस्नेतकाे भनाइ छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत् आयोजनामा लगानी भइसकेको बताउनुभयाे । ‘आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको जलविद्युत् क्षेत्रमा दक्ष, अर्धदक्ष र अदक्ष गरी पाँच लाखभन्दा धेरै नागरिकले रोजगारी पाइरहेका छन्’ उहाँले भन्नुभयाे ।

अध्यक्ष कार्कीले पछिल्लो समयमा बिजुली निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्न सफल भएको र अजै बढ्दै जाने विश्वास व्यक्त गर्नुभयाे । सरकारले राखेको २८ हजार सात सय मेगावाट बिजुली उत्पादन गर्नका लागि वनजग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयाे ।

एक्स्पोले यही वैशाख १६ र १७ गते हुन लागेकाे लगानी सम्मेलनका लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ । उहाँले विदेशी लगानी वृद्धि गर्नका लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउँदै लैजान सरकारसँग आग्रह गर्नुभयाे ।

नेपालका लागि क्यानडाका राजदूत क्यामरुन म्याकीले भिडिया सन्देशमार्फत नेपालको समृद्धिका लागि जलविद्युतको विकास महत्त्वपूर्ण रहेकाे उल्लेख गर्नुभयाे । ‘नेपालमा जलविद्युत् परियोजनाको विकास गर्नका लागि क्यानडासँग रहेको सीप, ज्ञान र अनुभव उपयोगी हुने विश्वास छ’, उहाँले भन्नुभयाे । राजदूत म्याकीले नवीकरणीय ऊर्जा विकासका लागि अद्यावधिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयाे ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बिजुली निर्यातमा भन्दा पनि देशभित्रै खपत बढाउनु प्राथमिकतामा रहेको बताउनुभयाे । यसका लागि सबै सरकार, निजी क्षेत्र अन्य सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने उहाँकाे भनाइ छ ।

समृद्धिका लागि हरित ऊर्जा भन्ने नाराका साथ शुरु भएको एक्स्पो भाेलि सम्पन्न हुनेछ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया