युएईमा रहेका नेपालीका समस्या बुझ्न दूतावास कार्यस्थलमा पुग्यो

 जेठ २८, २०७५ सोमबार १८:२५:५० | उमाकान्त पाण्डे

युएई – नेपाली दूतावास युएई कामदारका समस्या बुझ्न कार्यस्थलमै पुगेको छ । दूतावासले आफ्नो सचेतना अभियान कार्यक्रम अन्तर्गत आइतबार आबुधाबीको रिम आइसलान्डमा रहेको इल्टीजाम एसिस्ट्स म्यानेजमेन्ट ग्रुप कम्पनीमा नेपाली कामदारसँग छलफल गरेको हो । 

त्यस क्रममा कम्पनीमा कार्यरत झण्डै ५० जना नेपाली कामदार तथा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिनुभयो ।

कम्पनीमा झण्डै १ सय नेपालीले काम गर्ने भएपनि सबैको एकै दिन बिदा मिलाउन नसकिने र काम गर्ने ठाउँ पनि अलग अलग हुने भएकाले ५० जनासँग मात्रै छलफल गरिएको दूतावासले जनाएको छ ।

छलफलमा कम्पनीमा कार्यरत कामदारले अहिलेसम्म समस्य नभएको र सम्झौता अनुसार नै सुविधा पाइरहेको बताएका थिए । ‘हामीले खान बस्न पाएका छौं, तलब चाहिँ ८ सय दिर्हाम मात्रै छ, थोरै मात्रै बढेपनि काम गर्न हौसला मिल्ने थियो,’ एक सहभागीले भने ।

८ सय दिर्हाम मात्र तलब पाएको भन्दै उनीहरुले कम्पनीसँग तलब बढाइदिन दूतावासलाई अनुरोध गरेका छन् । तलब सम्बन्धमा युएईसँग छिट्टै श्रम सम्झौता हुने तयारी भएको भन्दै कामदारका गुनासालाई कम्पनीका प्रतिनिधिसँग समेत छलफल गरिएको कार्यबाहक राजदुत सागरप्रसाद फुयाँलले बताउनुभयो ।  

युएईमा गर्न हुने र गर्न नहुने काम तथा दूतावासले दिने सेवा सुविधाका बारे जानकारी गराउँदै समस्या पर्दा अपनाउनु पर्ने तरिका बारे उनीहरुलाई जानकारी गराइएको दूतावासले जनाएको छ ।

कार्यक्रममा कार्यबाहक राजदूत फुयाँलको नेतृत्वमा द्वितीय सचिव कृष्ण अर्याल, श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल तथा त्रितीय सचिव केशबराज पोखरेलले सहजीकरण गर्नुभएको थियो ।   

पहिलो पटक आफूले काम गर्ने ठाउँमा दूतावासका प्रतिनिधि आएकोमा निकै खुशी लागेको नुवाकोटका रमेश लामाले बताउनुभयो । दूतावासले यसै साता दुवईमा रहेको क्लिन्को कम्पनी तथा इजादा म्यानेजमेन्ट कम्पनीमा काम गर्ने नेपाली बस्ने क्याम्प वा कार्यस्थलमा पुगेर कार्यक्रम गर्ने जनाएको छ ।

यी दुबै कम्पनीमा काम गर्ने नेपालीले आफूहरुलाई धेरै समस्या रहेको बताउँदै आएका छन् । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया