‘स्मार्ट भिलेज’ घलेगाउँमा महोत्सव सुरु : पर्वकै रुपमा मनाउँछन् स्थानीय

 बैशाख २३, २०७६ सोमबार १२:३९:४४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सार्क राष्ट्रकै नमना गाउँको रुपमा परिचित एवम् नेपालकै पहिलो ‘स्मार्ट भिलेज’का रुपमा अघि बढिरहेको लमजुङको घलेगाउँमा २० औँ घलेगाउँ महोत्सव सोमबारबाट सुरु भएको । महोत्सव बुधबारसम्म चल्नेछ ।

स्थानीयले २०५७ सालदेखि प्रत्येक वर्ष वैशाख २३, २४ र २५ गते घलेगाउँ महोत्सव मनाउँदै आएका छन् ।

कसरी सुरु भयो घलेगाउँमा होमस्टे ?

झण्डै २ दशकअघि घलेगाउँलाई पर्यटकीय गाउँ बनाउन सकिन्छ कि ! भनी स्थानीयले आपसमा छलफल गरे । लगत्तै, स्थानीय अगुवा प्रेमबहादुर घलेको अगुवाइमा गाउँघरका बाटोघाटो सफा राख्ने निधो गरे । 
यस कार्यमा आमा समूहको पनि भरपुर साथ मिल्यो । विगतमा गाउँघरमा आइरहने विदेशी पर्यटक आफ्नै ढंगले टेन्ट टाँगेर बस्थे ।

उनीहरुलाई घरमै पकाएर खुवाउन पाए कस्तो होला ? भन्ने सोँच स्थानीयमा पलायो । केही घर व्यवस्थित बनाउन उनीहरु लागिपरे ।          

२०५६ सालमा उनीहरुले १२ घर छनौट गरे । विदेशीलाई मात्रै नभइ गाउँमा आउने पाहुनालाई पनि राख्न सकिने गरी छनौटमा परेका १२ घरबाट घलेगाउँमा होमस्टे (घरबास) सुरु भयो । 

अहिले घलेगाउँमा ३४ घरले व्यावसायिक ढंगले होमस्टे चलाएका छन् । अहिले ग्रामीण पर्यटनको अग्रणी गाउँको रुपमा परिचित छ, लमजुङ क्वहोलासोँथर गाउँपालिका–३, मा रहेको घलेगाउँ ।

‘घलेगाउँ महोत्सव’ घलेगाउँवासीको ठूलो पर्व

घलेगाउँ देशी–विदेशी दुवै पर्यटकको रोजाइको गन्तव्य हो । त्यसैले पनि गाउँमा अहिले दैनिक सयौँ संख्यामा पर्यटक भित्रिन्छन् । गाउँमा पर्यटक आगमन बढेसँगै स्थानीयको व्यस्तता बढ्दो छ । व्यस्ततासँगै आम्दानी पनि बढेको छ । स्थानीयको जीवनस्तर माथि उकासिएको छ । 

चाडबाडको समयमा गाउँमा पर्यटकको चाप झनै बढ्ने हुँदा घलेगाउँका स्थानीयले बर्सेनि सञ्चालन हुने घलेगाउँ महोत्सवलाई नै ठूलो चाडको रुपमा मनाउँदै आएका छन् ।

‘स्थानीयको व्यस्तता बढ्दो छ । चाडबाडमा झनै पर्यटकको संख्या बढ्छ, गाउँमा । त्यसैले हामीहरुले दसैँ–तिहारभन्दा गाउँमा वर्षको एकचोटी लाग्ने घलेगाउँ महोत्सवलाई नै ठूलो चाडको रुपमा मनाउँदै आएका छौँ’, पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले भन्नुभयो ।

‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरवास, घलेगाउँ समृद्धिको आधार : स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रर्वद्धन, ग्रामीण पर्यटन विकासको पूर्वाधार’ भन्ने नाराका साथ यसवर्ष २० औँ घलेगाउँ महोत्सव मनाउन लागिएको हो । 

घलेगाउँलाई ‘स्मार्ट भिलेज’ को रुपमा चिनाउने उद्धेश्य

पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका सचिव उमल विकका अनुसार घलेगाउँका स्थानीयले ठूलो तडकभडक गरेर महोत्सव मनाउँदैनन् । पर्यटकलाई सदैव स्वागत गर्ने घलेगाउँका बासिन्दाले महोत्सवलाई चाडपर्वको रुपमा विगतदेखि नै मनाउँदै आएका छन् । 

घलेगाउँको पर्यटन प्रबर्द्धन गर्न, पौराणिक लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास, प्राकृतिक स्रोत–साधनको सदुपयोग गर्न, पौराणिक हास्तकला सामग्री तथा लोकल कृषि उपजको जगेर्ना गर्न, ग्रामीण पर्यटनको प्रचारप्रसार, पर्यटनबाट समृद्धि सम्भव छ भनी सन्देश फैलाउन र घलेगाउँलाई ‘स्मार्ट भिलेज’ को रुपमा चिनाउने उद्धेश्यले नै २० औँ घलेगाउँ महोत्सव मनाइँदै छ । 

महोत्सवमा गुरुङ संस्कृति (घाँटु, सोरठी, सेर्का, घ्याब्रे, कृष्णचरित्रलगायतका पौराणिक नृत्य प्रदर्शनी, गुरुङ खाना महोत्सव, मनोरम प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति, पौराणिक हास्तकला सामग्री प्रदर्शनी, लोकल कृषि उपजको प्रदर्शनी, हिमाल दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, स्वर्गभूमि रंगाशाला, क्व्होइँबो धीं पार्क, नमूना चिया बगान, तिजे उत्तरकन्या मन्दिर, पौराणिक भेडीगोठ अवलोकनका साथै होमस्टेसम्बन्धी कार्यशाला गोष्ठी समेत सञ्चालन हुनेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया