पेनाल्टी शुटआउटमा स्पेनलाई स्तब्ध पार्दै रुस पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

 असार १७, २०७५ आइतबार २२:५२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै आयोजक रुस इतिहासमै पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
                 
रुसको केन्द्रीय रंगशाला लुज्निकीमा ८१ हजार घरेलु दर्शकसामू रुसले पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले स्पेनलाई हराएको हो । नियमित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा स्पेनका कोके र इयागो आसपासको प्रहार रुसी गोलरक्षक इगर अकिनफिभले रोकेका थिए ।
 
स्पेनका लागि आन्द्रेस इनिएष्टा, सर्जियो रामोस र पिकेले गोल गरेका थिए भने रुसका लागि फ्योदोर स्मोलोभ, सेर्जेई इग्सानेभिच, अलेक्जान्दर गोलोभिन र डेनिस चेरिसेभले गोल गरेका थिए ।
 
यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । त्यस समयमा पनि दुवै तर्फबाट गोल हुन सकेन । जम्मा १ हजारभन्दा बढी पास खेलेको स्पेनले गोल भने गर्न सकेन ।
 
खेलको १२औं मिनेटमै उपहार गोलमार्फत स्पेनले अग्रता लिएको थियो । स्पेनको प्रहार जोगाउने क्रममा रुसका सेर्जेई इग्सानेभिचले दुर्भाग्यवस आफ्नै पोष्टमा गोल गरेका थिए ।
 
नियमित खेलाडीहरु आन्द्रेस इनिएष्टा र ड्यानियल कार्भाजलबिना मैदानमा उत्रिएको स्पेनले खेलमा अधिकांश समय बल पोजिसन नियन्त्रणमा राखेको थियो ।
 
खेल अवधिभर ७० प्रतिशत बल पोजिसन बनाएको स्पेनले ४१औं मिनेटमा पेनाल्टीमा गोल खान पुग्यो । जेरार्ड पिकेले डिबक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टी अवसरलाई अर्तेम ज्युवाले गोलमा परिणत गरे ।
 
६७औं मिनेटमा इनिएष्टा र ७०औं मिनेटमा कार्बाहाल मैदान प्रवेश गरेपछि स्पेनको खेल सुध्रिएको थियो । ८४औं मिनेटमा इनिएष्टाको सशक्त प्रहार रुसी गोलरक्षक इगर अकिनफिभले बचाएका थिए ।
 
रुस पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । सन् १९९० मा सोभियत युनियन टुक्रिए यता रुसले चौथो विश्वकप खेलेकोमा पहिलो पटक नकआउट चरणमा पुगेको हो । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा तत्कालीन सोभियत संघ क्वार्टरफाइनलसम्म पुगेको थियो । क्वार्टरफाइनलमा उ उरुग्वेसँग १ ० ले पराजित भएको थियो ।

स्पेन विश्वकपमा योसहित तीन पटक पेनाल्टी शुटआउटमा पराजित भएको छ । यसअघि सन् १९८६ मा क्वार्टरफाइनलमा बेल्जियमसँग स्पेन ५-४ ले पराजित भएको थियो । त्यस्तै २००२ को विश्वकपको क्वार्टरफाइनलमा दक्षिण कोरियाले स्पेनलाई पेनाल्टी शुटआउटमा ५-३ ले हराएको थियो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया