लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न नेपाली कांग्रेसकाे माग

 जेठ ३०, २०७६ बिहिबार १४:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने जनाएको छ । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरीत खुलाइएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने पार्टीको अडान रहेको प्रष्टयाउनु भएको हो । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यस सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रवक्ता शर्माले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि बताउनु भयो । संविधानलाई केन्द्रमा राखेर लोकसेवा आयोगले फेरि विज्ञापन खुलाउने र स्थानीय तहमा आवश्यक कर्मचारी नियुक्तिको प्रक्रियालाई अघि बढाउने पक्षमा आफ्नो पार्टी रहेको प्रवक्ता शर्माको भनाइ छ ।

प्रवक्ता शर्माले त्यस विज्ञापनमा आवेदन दिएकाहरुको भावनाको सम्मान गर्न पनि लोकसेवा आयोगले त्याे विज्ञापन फेरि खुलाउन ढिलाइ गर्न नहुने पनि बताउनु भयो । कांग्रेसले पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष पनि निकालेको छ ।

पार्टीका प्रवक्ता शर्माले जेठ २५ गते सम्पन्न पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालिएको पनि जानकारी दिनुभयो । पार्टीप्रतिको आकर्षण र सरकारप्रतिको जनताको विकर्षण रहेको पहिलो चरणको जागरण अभियानको क्रममा देखिएको प्रवक्ता शर्माको भनाइ छ ।

जनजागरण अभियानको क्रममा लामो पृष्ठभूमि भएका कम्युनिष्ट पार्टीका नेताहरुसहित ३१ हजार ६ सय ४२ जना अन्य पार्टीबाट आफ्नो पार्टीका प्रवेश गरेबाट पनि पहिलो चरणको कार्यक्रमबाट जनता आफ्नो पार्टीप्रति आकर्षित भएको निष्कर्षमा पुगिएको पनि नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आउँदाे भदौ २४ गते बीपी जयन्तीको दिनबाट सुरु गर्नेछ । त्यस अघि कार्यक्रमका लागि आवश्यक निर्णय लिन असारको तेस्रो साता केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरिएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नु अघि नै नेपाली कांग्रेसले नेविसंघलगायतका भातृ संस्थाहरुको पुनर्गठन गरिसक्ने कार्यक्रम पनि तय गरेको छ ।

नेपाली काँग्रेसले पहिलो चरणको कार्यक्रम सफल भएको र त्यसले जनतामा नयाँ उर्जा दिएको दावी पनि गरेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया