कविता : दृश्यहरू

 असार १४, २०७६ शनिबार ११:४२:३५ | अनिल पौडेल ‘किर्ते’
unn.prixa.net

तातो हिमालको चिसो छातीबाट
दैलो उघारेर पशुपतिको ढोकाजस्तो...घरक्क
शिथिल शिवलिङ्गबाट बग्दै गरेको समुद्र
भूमध्य सागर भरिनै लाग्दा
गहिरी खेतमा एक हल नारिएको दृष्य आउँछ
मथिएको समुद्रको दारुण गहिराइ
पङ्ख फिँजाउन आतुर छ

नग्न नजर, तृप्त वदन
विक्षिप्त मुना, नग्न मदन
ल्हासाको सिक्री, गरेर फिक्री
फर्कन्छ जीवन, गरेर बिक्री

नारिएका हल, सम्हाल्ने हली
पोटिला फलमा, रम्छ अलिअलि
पोल्ने पोटी एकैचोटी काँधमा भार लाउँदा
चुवाडेको बेँसीगोठमा दुई मुढा हार लाउँदा
'पान्सय'को धान सय मन...कस्ले ढिकुटी भर्‍यो भन् ?

छिन् छिन् बज्ने चुराले पोखेका कुरा नबुझेर
भौँतारिएको त्यो सूर्य बलियो कि म ?
यौटा डाँडाले छेक्ने घाम
त्यस्ता जोडी डाँडा उक्लने म
लागेन कहिल्यै थाकियो, लागेन कहिल्यै गलियो
काेरल रीफका मोती टिपेर कसले बनायो खलियो ??

चिसो आगोमा तताएको भाँडोको चिसो पानी
क्यानाे क्रिस्टल्स झैँ रङ्गीन भैदिएको भए
लाभा जस्तो जिन्दगीले आकार खोज्नुपर्ने थिएन 
थुप्रिएर कालो बनेको सगरमाथाको 'सेतो' चट्टानझैँ
ढलपल-ढलपल अ-स्थिर बिसौनी रोज्नपर्ने थिएन

बुझ्नै नभ्याउने गरी बोल्ने अनगिन्ती मूर्तिहरु
मौन-मौन मन्तव्यले सादा जिन्दगीलाई बाधा गर्छन्
रिफ्ट भ्याली झैँ यो छाती खै कहिले आधा गर्छन्
जोडेर नजोडिने यी काँचका मनहरू
रोकेर नरोकिने यी पराश्रित तनहरू
अल्झिरहेछन् हाँगामा........काँडा भएको
देखिन्न जिन्दगी गाढा भएको
समयले नाप्यो र थाहा पाएँ
श्वास र आशबीचको दूरी टाढा भएको

फित्ताले नापिएको पृथ्वीको माथिल्लो भेनाकावा
कावा खाँदै पहाडको बाटो दक्षिणतर्फ लम्कँदै गर्दा
शून्य अक्षांशमा अशान्त प्रशान्तले लहर उठाइदियो
गहिराइ छोडेर चुरे फर्कियो जिन्दगी 
बग्दै खाडी पुग्न लाग्दा थकित……झर्कियो जिन्दगी

मुस्ताङका स्याउजस्ता केही थान सपनाहरू
कालीगण्डकीले होस गुमाएपछि
सहारा मरुभूमिझैँ सहाराविहीन बन्ने रहेछन्
तब आधा जिन्दगीका सादा दृश्यहरू
समयका काँटाहरुले पल्टाइ-पल्टाइ भन्ने रहेछन् ।

अन्तिम अपडेट: मंसिर १५, २०७६

तपाईको प्रतिक्रिया