ओलीका ‘मौरी’, ‘अरिंगाल’ र ‘छौँडा’

 असार २३, २०७६ सोमबार १४:५७:५१ | मिलन तिमिल्सिना
unn.prixa.net

दुई तिहाइ बहुमत भएका शक्तिशाली प्रधानमन्त्री । पहिलो कार्यकालको कामका कारण सबैले आशा र भरोसा गरेका नेता । दुःख कष्ट, गरिबी, अन्याय, अत्याचार, जेलनेल, अप्ठ्यारा, चुनौती सबैथोक भोगेका मान्छे ।

देश, काल, परिस्थिति सबै कुराका जानकार । नागरिकको प्रतिक्रिया र आफ्नो प्राथमिकताकाबारे अरुभन्दा अपडेट भैरहने व्यक्ति । अवगुणलाई गुणले ढाक्दै विरोधीको समेत मन जित्न सफल हुँदै गरेकाले राजनेता बन्ने छवि निर्माण हुँदै थियो केपी शर्मा ओलीको लगभग एक वर्ष अघिसम्म ।

तर त्यो छवि निर्माणको प्रक्रिया उहाँकै वचन र व्यवहारका कारण एकाएक रोकियो र उल्टो बाटो हिँड्न लाग्यो । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला पाइलाले असफलताको गोरेटो लम्कन थालेको भान हुन्छ । हिजोआज उहाँ जहाँ टेक्नुहुन्छ, त्यहीँ फस्नुहुन्छ । जे बोल्नुहुन्छ, त्यहीँ पोलिनुहुन्छ । जसलाई हेर्नुहुन्छ, त्यहीँ बटारिनुहुन्छ ।

उहाँसँग आशा र भरोसा गर्ने नागरिक मात्रै होइन, उहाँकै ‘मौरी’ र ‘अरिंगाल’ समेत आजित भैसकेका छन् । उहाँले चाहेअनुसार उहाँका मान्छे ‘मौरी’ र ‘अरिंगाल’ बनेको नदेख्दा उहाँलाई सल्लाह दिनेहरुले आफ्नै मान्छेलाई ‘छौँडा’ देख्न थालेका छन् ।

दुई तिहाइको बलियो खुट्टामा टेकेर सिंहदरबार छिरेको यो १६ महिनामा ओलीले नागरिकलाई महसुस हुने गरी एउटा, दुइटा मात्रै काम गरेको भए उहाँका कार्यकर्ता मात्र होइन, आमनागरिक नै उहाँका ‘मौरी’ बन्न इच्छुक थिए । राम्रो काम गर्न थालेको सरकारलाई कसैले विरोध गर्न खोज्यो भने उहाँका कार्यकर्ता मात्रै होइन, विरोधी पनि ‘अरिंगाल’ बनेर जाइलाग्थे । अनि सल्लाहकारले वरपर ‘छौँडा’ त के गौँडागौँडामा बसेर सरकारलाई धारे हात लगाउने मान्छे नै देख्न पाउँदैनथे ।

यसबीचमा नयाँ र ठूला काम गर्नै पर्दैन थियो । भैरहेका र सुरु गरिसकेका केही कामले निरन्तरता मात्रै पाएको भए विपक्षीले समेत उहाँको जयजयकार गर्थे । रेल र पानीजहाजको सपनासँगै सडकका खाल्डा पुर्ने सानो काम भैदिएको भए नागरिक खुसी हुन्थे । यातायातको सिण्डिकेट र ठेकेदारको मनोमानी हटाउन सुरु गरेको कामले पूर्णता पाएको भए सरकारले केही गर्दैछ भन्ने आश बाँकी रहन्थ्यो । अरु कुरा छाडौँ, पछिल्लोपटक विषादी परीक्षण थालेको सरकारले यसलाई निरन्तरता मात्रै दिन सकेको भए चुलिंदै गएको आलोचना स्वाट्टै घटेर समर्थन ह्वात्तै बढ्थ्यो ।

तर नागरिकको मन जित्ने पछिल्लो अवसर पनि ओलीले गुमाउनुभएको छ । उहाँ आफ्नै सीमित घेरा र सानो सोचबाट बाहिर निस्कन सक्नुभएको छैन । गाउँठाउँ, भीरपहरा र बेसीखोचको बारेमा समेत राम्रो हेक्का भएका प्रधानमन्त्रीले काठमाण्डौकै परिवेश बुझ्न सक्नुभएको छैन । उहाँलाई राम्रोसँग थाहा हुनुपर्ने हो, अन्तको कुरा छोडौँ सिंहदरबारभित्रै पनि मास्क लगाएर पस्नुपर्छ । धुलो, धुवाँ र फोहोरको गन्ध हटेको छैन ।

तर ‘मास्क लगाएर हिँड्ने कम भए’ भन्ने आफ्नो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा तीव्र विरोध, व्यङ्ग्य र असन्तुष्टि देखेर उहाँले खप्न सक्नुभएन । त्यसपछि अर्को भाषणमा भनिदिनुभयो, ‘मेरो र सरकारको विरोध गर्न मास्क लगाएर हिँड्न थाले ।’ प्रधानमन्त्रीजस्तो व्यक्तिको यति हल्का र गैरजिम्मेवार अभिव्यक्तिलाई उहाँकै नेताकार्यकर्ताले समेत पचाउन सकेनन् ।

मास्कबारेको अभिव्यक्तिसँगै विषादी परीक्षणबाट पछि हटेपछि ओली सरकारप्रतिको असन्तुष्टि झन् तीव्र भएको छ । ओली सरकारबाट अब आश गर्नु बेकार हो भन्नेहरुको संख्या थपिँदो छ । असन्तुष्टहरुको लाइनमा उहाँलाई भोट दिने नागरिक मात्रै होइन, उहाँको काँध थाप्नेहरु पनि छन् । जसलाई उहाँले विश्वासमा लिन सक्नुभएन । आफ्नै वरपर रहेका सीमित मान्छेका कुरा पत्याउनुभयो । आफू नजिकै रहेका आफ्नै अरु मान्छेलाई पत्याउनुभएन । कहिले ‘अरिंगाल’ भएर प्रस्तुत हुन निर्देशन दिनुभयो । कहिले ‘छौँडा’ देख्नेहरुको तमासा हेरेर बस्नुभयो ।

अलि पहिले प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई मौरी बन्न निर्देशन दिनुभयो । मौरी भनेको सबैभन्दा मेहनती र सामूहिक काम गरेर सबैभन्दा मिठो र तागतिलो खानेकुरा बनाउने जीव । तर मौरी मेहनती बन्न रानीले त्यसैगरी अरुलाई विश्वासमा लिन सक्नुपर्छ । तर ओली मौरीको रानीजस्तो बन्न सक्नुभएन या खोज्नुभएन । अनि रानी नै रानीजस्तो नभएपछि अरु मौरीजस्तो बन्ने कुरा पनि आएन ।

ओलीले भनेजस्तै नेता, कार्यकर्ता मौरी र उहाँ रानी बन्न सकेको भए सरकारको कामलाई कसैले औँला ठड्याउन सक्दैन थियो । सरकारको काम मौरीको महभन्दा मिठो हुन्थ्यो । तर मह बन्ने छाँट देखिएन । त्यसपछि ओलीले कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिनुभयो ।

अरिंगाल अर्थात आक्रामक । सरकारलाई विरोध गर्नेहरुको प्रतिवाद गर्नु भन्ने ओलीको निर्देशन थियो । तर मौरी कसरी बन्ने भनेर बाटो हेर्दै गरेका समर्थक र कार्यकर्तालाई तत्काल अरिंगालको रुप धारण गर्न पनि कठिन भयो । सामाजिक सञ्जालमा केही समर्थक अरिंगालजस्तो बने पनि उहाँका धेरै नेताकार्यकर्ता नै अरिंगाल बन्न सकेनन् । उल्टै उहाँका प्रमुख सल्लाहकारले भनेजस्तै घरभित्र ‘छौँडा’ को बिगबिगी बढ्ने संकेत देखियो । यही संकेत पाएर नै प्रमुख सल्लाहकारले बेलैमा मुख खोलेका हुन् ।

बुढापाकाहरु भन्थे – आफ्नै परिवारका कोही मान्छे छौँडा भएर भित्रियो भने त्यसले परिवारलाई नै तहसनहस बनाइदिन्छ । प्रधानमन्त्रीका सल्लाहकारको लाक्षणिक अर्थ पनि यही नै होला ।

हो, सल्लाहकारको भाषामा छौँडा अथवा सरकारको विरोध गर्ने लाइनमा नेकपाकै नेता, कार्यकर्ताको संख्या धेरै छ । नेतृत्वप्रतिको असन्तुष्टि छताछुल्ल भएर पोखिन थालेको छ । जो ‘अरिंगाल’ बन्न खोजेनन, ‘मौरी’ बन्न सकेनन्, उनीहरु ‘छौँडा’ बन्ने बाटो लाग्न पनि सक्छन् । तर घरभित्रका आफ्ना मान्छेलाई छौँडा बन्नबाट रोक्ने जिम्मा घरमुलीकै हो । ‘छौँडा’ भनेर भड्काउन खोज्ने र गलत सन्देश पुर्याउने सल्लाहकारको मुख थुन्ने काम पनि उनकै हो ।

घरभित्र ‘छौँडा’ पस्न दिने कि आफू रानी भएर नेता कार्यकर्तालाई ‘मौरी’ बनाउने या परेको बेला ‘अरिंगाल’ पनि खोज्ने भन्ने जिम्मा अब ओलीकै हो । अब पनि ओली मौरीको रानीजस्तो भएनन् भने आफैलाई अरिंगालले टोक्न र ‘छौँडा’ले चिथोर्न बेर मान्दैन ।

अन्तिम अपडेट: असोज १५, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया