आयोजक रसियालाई पेनाल्टीमा हराउँदै क्रोएसिया विश्वकपको सेमिफाइनलमा

 असार २३, २०७५ आइतबार ५:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । प्रतिष्पर्धात्मक खेलमा रसिया पेनाल्टी सुटआउटमा क्रोएसिया भन्दा कमजोर सावित भयो । निर्धारित र अतिरिक्त समयमा बराबरी भएको पेनाल्टी सुटआउटमा पुगेको नाटकीय खेल क्रोएसियाले ४–३ ले बाजी मार्यो ।

पेनाल्टी सुटआउटमा फिदोर स्मोलाभको फितलो प्रहार क्रोएसियाका गोलकिपर डेनियल सुबेसिचले बचाएका थिए भने मारियो फर्नाण्डेजले बललाई सहि दिशा दिन सकेनन् । क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा पुगेको हो ।

सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा फ्रान्स (जसले विश्वकप जित्यो) सँग पराजित भयो । र, तेस्रो स्थानको प्लेअफमा क्रोएसियाले नेदरल्याण्डलाई हरायो ।

अब फाइनल प्रवेशका लागि क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ । क्वार्टर फाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराउँदै २७ वर्षपछि विश्वकपको अन्तिम चारमा स्थान बनाएको थियो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा दुबै टिमले १–१ गोल थपे ।

३१औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै फिस्ट स्टेडियममा उपस्थित घरेलु समर्थकलाई खुसी दिलाए । अर्तेम ज्युबाले मिलाइदिएको बललाई चेरिसेभले दाहिने कुनाको जालिमा चुमाए ।

रसियाको त्यो खुसी आठ मिनेटभन्दा बढी टिकेन । ३९औं मिनेटमा मारियो मान्जुकिचको उत्कृष्ट क्रसलाई आन्द्रे क्रामारिकले हेडमार्फत गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

खेलको १००औं मिनेटमा लुका मोड्रिचको पासमा डोमागो भिडाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । अतिरिक्त समय सकिनु पाँच मिनेटअघि फर्नाण्डेजले गोल गर्दै जागोएभको फ्रिकिकमा हेडर गोल गर्दै रसियालाई खेलमा फर्काएका थिए । तर पेनाल्टी सुटआउटमा क्रोएसिया विजयी भएपछि ५२ वर्षपछि पहिलो पटक सेमिफाइनलमा पुग्ने रसियाको लक्ष्यमा पूर्णविराम लाग्यो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया