ललितपुरकाे नमुना मच्छिन्द्र मावि समस्यामा

 भदौ २, २०७६ सोमबार १५:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – लगनेखलमा रहेको नमुना मच्छिन्द्र माविले सर्वोच्च अदालतको फैसलाका कारण विद्यालय सञ्चालन गर्न समस्या भएको बताएको छ । 

२०३४ सालदेखि विद्यालयको नाममा रहेको १४ रोपनी १० आना जग्गा सर्वोच्च अदालतले सार्वजनिक जग्गा रहेको फैसला गरेपछि जग्गाको अभावमा विद्यालय चलाउनै नसक्ने अवस्था आएको प्रधानाध्यापक राधाकृष्ण महतले बताउनु भयो ।

सर्वाेच्चको फैसलाका कारण विद्यालयको भवन र दृष्टिविहीन विद्यार्थी बसिरहेको छात्रावास भत्काउनुपर्ने अवस्था आएको विद्यालय प्रशासनले जनाएको छ ।छात्रावासमा अहिले २० जना विद्यार्थी बसिरहेका छन् । विद्यालयले उपयोग गरिरहेको खेल मैदान पनि सार्वजनिक जग्गामा रहेको सर्वाेच्चले फैसला गरेको छ ।

विद्यालयका भवन जीर्ण भएपछि जापानी सहयोग नियोग (जाईका) ले दुई ओटा भवन बनाइदिएको छ । थप दुई ओटा ठूला भवन बनाउने काम अघि बढिरहेका बेला सर्वोच्चले जग्गा नै विद्यालयको नभएको फैसला गरेपछि नयाँ भवन पनि नबन्ने भएका छन् । 

२०२२ सालमा खुलेको विद्यालयको भवन २०२३ सालमा नक्सा पास गरेर बनाइएको र  २०३४ सालमा विद्यालयको नाममा लालपुर्जा आएको प्रधानाध्यापक महतले जानकारी दिनुभयो । २०३४ सालमा कित्ता नम्बर १२६ को २०५ रोपनी जग्गामध्ये कित्ता नम्बर २१२ कायम भइ विद्यालयको नाममा १४ रोपनी १० आना जग्गा आएको थियो । 

विद्यालय सार्वजनिक सम्पत्ति भए पनि यो कुरालाई ध्यान नदिइँदा समस्या भएको प्रधानाध्यापक महतले बताउनु भयो । २०३४ सालमा नै १२६ नम्बर कित्ताबाटै कित्ताकाट गरी नेपाल स्काउट, सेनाको राजदल गण, मालपोत कार्यालय, जिल्ला अदाल लगायतले उपभोग गरिरहे पनि ती जग्गाबारे कुनै मागदाबी नगरिएको विद्यालयले गुनासो गरेको छ । 

विद्यालयका नाममा मालपोत कार्यालयबाट ३२ वर्षअघि नै लालपुर्जा जारी भैसकेको जग्गालाई मात्र सार्वजनिक भएको दावी गरिएको र त्यसै अनुसार फैसला भएको विद्यालयले दाबी गर्दै आएको छ । 

अन्तिम अपडेट: भदौ ३१, २०७६

तपाईको प्रतिक्रिया