खोटाङका विभिन्न क्षेत्रमा फैलिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि विषादी वितरण

 भदौ ७, २०७६ शनिबार १८:५४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न क्षेत्रमा फैलिएको अमेरिकन फौजी किरा (फल आर्मी वर्म) नियन्त्रणका लागि विषादी वितरण गरिएको छ । 

हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा, वडा नम्बर-२ डिकुवा, वडा नम्बर-३ च्यास्मीटार, वडा नम्बर-११ राजापानी लगायतका वडामा फैलिएको फौजी किराको आतंक नियन्त्रणका लागि प्रदेशबाट आएका कृषिसँग सम्बन्धित विज्ञ तथा प्राविधिकको टोलीले विषादी वितरण गरेको हो । 

झण्डै चार हप्ता अघिदेखि फैलिएको अमेरिकन फौजी किराले बालीनाली लगायत वनजंगल नै सखाप पार्न थालेपछि बाहुनीडाँडा आइपुगेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय १ नम्बर प्रदेशका प्रवक्ता राजेन्द्र उप्रेती, कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठ र बाली संरक्षण प्रयोगशाला विराटनगरका प्रमुख मुकेशकुमार यादवको टोलीले प्रति बट्टा सय एमएलको ५० बट्टा विषादी हस्तान्तरण गरेको छ । 

प्राप्त भएको विषादी सबै किसानलाई वितरण गर्ने र आइतबार एकैसाथ बालीनालीमा छर्कने व्यवस्था मिलाइने बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनु भयो । प्राप्त भएकामध्ये २० बट्टा विषादी हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर  डिकुवा पठाइएको छ । 

अमेरिकन फौजी किराबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको बाहुनीडाँडामा कृषि ज्ञान केन्द्रका टोलीसमेत पुगेको छ । हलेसी तुवाचुङ नगरपालिकामा खडेरीका कारण मकैको बिरुवा मरेको केही समयपछि फेरि छरेर उम्रिएको मकैको बिरुवा फौजी किराले सखाप पारेपछि किसानहरु मारमा परेको मेयर इवन राईले बताउनु भयो । 

अन्तिम अपडेट: भदौ १३, २०७६

तपाईको प्रतिक्रिया