यात्रुको सुविधाका लागि अनलाइन टिकट बुकिङदेखि ‘नो ओभरेटक जोन’ सम्म

 असोज ५, २०७६ आइतबार १२:४६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँमा गाडीको यात्रा त्यति सहज हुँदैन । भनेको बेला टिकट नपाइने, बस्ने सिट नमिल्ने, उभिएरै जाँदा पनि सकस भोग्नुपर्ने लगायतका समस्या एकातिर हुन्छ भनेर ठाउँठाउँमा बिग्रिएका सडकले पनि सास्ती थप्ने गर्छ । गाडीको चापले कुनबेला घर पुगिन्छ भन्ने ठेगान पनि हुँदैन । यात्रुको यही समस्या समाधान गर्न प्रयास भैरहेको सरकार र यातायात व्यवसायीले बताएका छन् ।

यसैअनुसार आइतबारदेखि बसको अग्रिम टिकट बुकिङ खुलेको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्न सकिन्छ । 

यात्रुले पहिलाजस्तो लाइन लागेरै टिकट काट्नु पनि पर्दैन । विभिन्न अनलाइनमार्फत घरमै बसेर टिकट बुकिङ गर्न सकिन्छ । अनलाइनमा गाडी भाडादर ठाउँअनुसार राखिएको हुन्छ ।

रुट इजाजत खुला

अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि सरकारले देशभर नै गाडीको रुट इजाजत खुला गर्ने भएको छ । सीमित ठाउँमा मात्रै रुट इजाजत पाएका गाडीले तिहार र छठ पर्व सम्म नै देशभर गुड्न पाउनेछन् । 
चाडपर्वका अवसरमा बिनारोकटोक गाडी जुनसुकै ठाउँमा पनि गुडाउन पाउने गरी  रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

१४ ठाउँमा नागरिक सहायता कक्ष

दशैँ, तिहार लगायतका चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई ध्यान दिंदै काठमाण्डौ उपत्यकाका १४ ठाउँमा नागरिक सहायता कक्ष पनि स्थापना भएको छ । टिकट बुकिङ खुला भएसँगै नागरिक सहायता कक्ष सञ्चालनमा आएको हो ।

नागरिक सहायता कक्षले बढी भाडा लिएको, टिकटअनुसार सिट पाउन नसकेको लगायतका समस्याको तत्काल अनुगमन गरी समाधान गर्ने विभागले जनाएको छ ।

अनुगमन समिति

यात्रुलाई पर्न सक्ने समस्या तत्काल समाधान गर्ने उदेश्यले अनुगमन समिति पनि गठन भैसकेको छ । यातायात व्यवस्था विभागको महानिर्देशकको संयोजकत्वमा गठन भएको केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समितिले काम पनि थालिसकेको छ । यो समितिमा ट्राफिक प्रहरी, यातायात व्यवसायी समितिका प्रतिनिधि सहभागी छन् ।

समितिले बढी भाडा लिने, टिकटअनुसार सिट नपाउने, एउटा गाडीको टिकट काटेर अर्को गाडीमा पठाउने लगायतका समस्या अनुगमन गरी तत्काल समाधान गर्ने विभागको दावी छ ।

प्रदेश र पालिकालाई समेत यातायात व्यवस्थापन गर्न, आवागमनलााई सहज र सुनिश्चित बनाउने जिम्मेवारी दिइएको विभागले जनाएको छ ।

गाडीको प्राविधिक परीक्षण

यस वर्ष काठमाण्डौबाट छुट्ने गाडीको प्राविधिक परीक्षण गरेर मात्र गन्तव्यतर्फ पठाइने व्यवस्था मिलाइएको यातायात व्यवस्था विभागले जनाएको छ । अघिल्ला वर्षहरूमा चाडपर्वको समयमा ग्यारेजमा थन्क्याइएका र बिग्रेका सवारी साधनहरूसमेत सञ्चालनमा ल्याइएकाले बाटोमै बिग्रेर यात्रुले दुःख पाएको, विभिन्न दुर्घटना भएको पाइएकाले यस वर्षदेखि प्राविधिक परीक्षण थालिएको हो ।

बिग्रेको र पुराना गाडी पाइएमा पूर्ण रूपमा मर्मतसम्भार गरी मात्र काठमाण्डौबाट जान दिने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

नागढुंगामा ओभरटेक गर्न नपाइने

काठमाण्डौ प्रवेश गर्ने मुख्य नाका नागढुंगामा धेरै जाम हुने भएकाले यस ठाउँमा गाडीले ओभरटेक गर्न नपाउने नियम लगाइएको छ । चाडपर्वको बेला गाडी धेरै गुड्ने, तर तुलनात्मक रूपमा सडक साँघुरो भएको हुनाले नौबिसे–नागढुङ्गा सडकखण्डलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

बढी भाडा लिनेलाई ठाउँको ठाउँ कारबाही

अघिल्ला वर्षहरुमा चाडपर्वका बेला गाडीले जथाभावी भाडा लिने गरेको गुनासो बढेपछि विभागले कडाइ गरेको छ । बढी भाडा लिएको भेटिएमा यो वर्ष ठाउँको ठाउँ कारबाही गर्ने अधिकार अनुगमन समितिलाई दिइएको विभागले जनाएको छ । 

बढी भाडा लिनेलाई जरिवाना गरी लिएको बढी भाडा फिर्तासमेत गराइने विभागको भनाई छ । यातायात व्यवस्था ऐनअनुसार बढी भाडा लिने सवारी साधनलाई पाँच हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया