सुधार केन्द्रमा बस्दै आएका एक युवक नदी किनारमा मृत अवस्थामा भेटिए

 कात्तिक १२, २०७६ मंगलबार १९:५५:३० | रासस

तनहुँ - तनहुँको व्यास नगरपालिका–१, रतौलीटारमा रहेकाे सुधार केन्द्रमा बस्दै आएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

बन्दीपुर गाउँपालिका–१, डुम्रे घर भइ लर्निङहोम फाउण्डेशन नेपालद्वारा सञ्चालित सुधार केन्द्रमा बस्दै आएका २२ वर्षीय नवीन गुरुङ देवघाट गाउँपालिका–३, साराङघाटमा सेती नदीको किनारमा मृत फेला परेका हुन् ।

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गुरुङको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक एवं लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

गुरुङ विगत दुई महिनादेखि लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना जगाउने काम गर्दै आइरहेको फाउण्डेशन सुधार केन्द्रमा बस्दै आएका थिए । 

कात्तिक ६ गते फाउण्डेशनबाट १२ युवा भागेपछि प्रहरीलाई खबर गरिएको थियो । अन्य ११ भने घर पुगे पनि गुरुङ घर नपुगेपछि प्रहरी र परिवारले उनको खोजी गरेको थियो ।

‘त्यहाँबाट भागेका सबैको घरमा सोधपुछ गरेका थियौँ’, प्रहरी नायब उपरीक्षक लामिछानेले भन्नुभयो, ‘सबै जना घर पुगे पनि गुरुङ भने सम्पर्कविहीन भएका थिए’, प्रनाउ लामिछानेका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया