दैनिक चार जनाभन्दा बढी लैङ्गिक हिंसाबाट पीडित

 मंसिर २६, २०७६ बिहिबार ११:२७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहँदा दैनिक चार जनाभन्दा बढी यस्तै हिंसाबाट पीडित हुने गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

इन्सेक (अनौपचारिक क्षेत्र सेवा केन्द्र) ले मङ्सिर ९ गतेदेखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा तयार पारेको तथ्याङ्कसहितको अध्ययन प्रतिवेदनमा यस्तो तथ्याङ्क समावेश गरेको हो ।

जिल्ला प्रतिनिधिहरूबाट प्रेषित भइ आएका समाचारका आधारमा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालन भएका दिनमा लिङ्गकै आधारमा भएका हिंसासम्बन्धी समाचारलाई विश्लेषण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेकमा भएको अभिलेखका आधारमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधिमा बलात्कारका घटनामा नौ जना महिलासहित २७ जना पीडित भएको जनाइएको छ ।

त्यसैगरी यौन दुव्र्यवहारका घटनामा चार वर्षीया बालिकासहित १० जना र बलात्कार प्रयासका घटनामा ६ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

यो अवधिमा बेचबिखन प्रयासका घटनामा तीन जना बालिकासहित पाँच जना, बेचबिखन घटनामा तीन जना बालिका र कथित बोक्सीको आरोपमा दुई जना महिला पीडित भए भने परिवारकै सदस्यबाट तीन जना महिला र एक जना बालिकाको हत्या भएको उल्लेख छ ।

‘अभिलेखित सबै घटनाको अनुसन्धान प्रक्रिया जारी छ । १६ दिने अभियान चलिरहँदा अछाममा एक जना महिलाको छाउगोठमा मृत्यु भयो । छोराले आमालाई कुटपिट गरी घाइते बनाएको लगायतका घरेलु हिंसाका घटना इन्सेकको अभिलेखमा छ’, प्रतिवेदनमा भनिएको छ ।  

घरेलु हिंसाका घटनाको तथ्याङ्कलाई यो प्रतिवेदनमा समावेश नगरिए पनि त्यस्ता घटना पनि अभिलेखमा राखिएको इन्सेकले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया