१३ वर्षमा निर्माण सकिएकाे विमानस्थलमा परीक्षण उडान, मन्त्री भट्टराईले नियमित उडानका लागि पहल गर्ने

 पुस ७, २०७६ सोमबार १३:३५:५३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – ओखलढुङ्गाको पर्यटकीय क्षेत्र खिजीदेम्वामा एउटा विमानस्थल निर्माण गर्न १३ वर्ष लाग्यो । 

विसं २०६३ सालमा निर्माण थालिएको विमानस्थलको काम गएको हप्ता सकिएको थियो । खिजीदेम्वा गाउँपालिका ३ को खिजीचण्डेश्वरी विमानस्थलमा सोमबार परीक्षण उडान गरिएको छ । 

तारा एअरको नाइन एन एईभी विमान बिहान साढे आठ बजे विमानस्थलमा अवतरण गरिएको थियो । परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि पर्यटन मन्त्री योगेश भट्टराई र संघीय संसदको विकास तथा प्रविधि समितिका सदस्य सांसद यज्ञराज सुनुवार पुग्नुभएको थियो ।  

परीक्षण उडानपछि सुधार तथा नियमित उडानका लागि पहल थालिएको पर्यटन मन्त्री भट्टराईले बताउनुभयो । उहाँले विमानस्थल थप चौडा बनाएर कालोपत्रे गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

मन्त्रीसँग स्थानीयले निर्माण गरिएको विमानस्थलको स्तरोन्नति र कालोपत्रे गर्न माग गरेका छन् । निर्माण सकिन १३ वर्ष लागेजस्तो उडान पनि परीक्षणमा नै सीमित नहोस् भन्दै मन्त्रीको ध्यानाकर्षण गराइएको सांसद यज्ञराज सुनुवारले बताउनुभयो । ओखलढुंगा हुँदै सगरमाथा जान अति उपयुक्त पदमार्गका बीचमा रहेको विमानस्थल नियमित चल्न सके पर्यटक भित्र्याउन सहज हुने सुनुवारको भनाइ छ । 

स्थानीयले मागपत्र नै पेस गरेर खिजी क्षेत्रको पर्यटन विकासमा ध्यान दिन माग गरेका छन् । ‘ओखलढुङ्गा टुरिजम डेभलपमेन्ट कमिटी’ को अगुवाइमा पेस गरिएको मागपत्रमा खिजीचण्डेश्वरी विमानस्थलमा ठूला जहाज अवतरण गर्न मिल्ने गरी स्तरोन्नति र कालोपत्रेको माग गरिएको छ । 

त्यस्तै पर्यटकीय क्षेत्रको विकासमा मन्त्रालयले बजेट व्यवस्था गरेर नेपाल भ्रमण वर्ष २०२० मा हजारौँको संख्यामा पर्यटक खिजी क्षेत्रमा आकर्षित गर्न सहयोग गर्न माग गरिएको पर्यटन व्यवसायी पेम्बा शेर्पाले बताउनुभयो । 

स्थानीय युवा चम्पक सुनुवारले परीक्षण उडानबाट स्थानीय उत्साहित बनेको बताउनुभयो । उहाँले योे विमानस्थल खिजीको ‘लाइफलाइन’ भएकाले किालोपत्रे गरेर नियमित उडान गर्नुपर्नेमा जोड दिनुभयो । 

नियमित उडान भएमा खिजीसम्म जहाजमा आएका पर्यटकलाई देम्बा, पिके हुँदै सगरमाथा जान पदमार्ग सहज पर्छ । हवाई जहाजमार्फत जानका लागि समेत मन्थलीभन्दा नजिक पर्छ । सगरमाथा जाने पदमार्ग पनि स्तरोन्नति गरेर विमानस्थल सुचारु गर्न सके यस क्षेत्रमा पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ । 

यो विमानस्थलबाट ४ घण्टा पैदल दुरीमा नेपालका ७ अग्लामध्येको एक देम्बा डाँडा समेत रहेको छ । यो विमानस्थलको रनवे ४० मिटर चौडा र पाँच सय ८० मिटर लामो छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया