बैंकिङ् टु मोटिभेसन

 माघ ४, २०७६ शनिबार १४:५७:५९ | शैलेन्द्र खड्का
unn.prixa.net

यूएई आउनु अघि म काठमाण्डौमा स्टार एफएममा काम गर्थेँ । मिडियामा धेरैको रहर बोल्ने र लेख्ने हुन्छ, तर म स्टार एफएमको मार्केटिङ् म्यानेजरका रूपमा कार्यरत थिएँ ।

मेरो उमेर २१ वर्षको थियो र तलब महिनाको पाँच हजार रुपैयाँ । त्यसमाथि, आफूले गर्ने सेल्सको आधारमा कमिसन पनि पाउँथेँ । मेरो कामलाई त्यति बेलाको काठमाण्डौमा राम्रै जागिर मानिन्थ्यो । विज्ञापन वा जिङ्गल बनाउने, रेडियोमा बज्ने कार्यक्रम तालिका जसलाई रेडियोकै भाषामा क्युसिट भनिन्छ, त्यो बनाउने जिम्मेवारी मेरो थियो । 

काठमाण्डौको पुरानै बासिन्दा हो मेरो परिवार । उच्च मध्यमवर्गीय परिवारमा आरुबारी, सिमलटारमा म जन्मिएँ । बुवा त्यसबखत रक्षा मन्त्रालयमा काम गर्नुहुन्थ्यो । बुवा सरकारी कर्मचारी र आमा गृहिणी । बुवाआमाका दुई छोरामध्येको जेठो छोरो म । कक्षा ८ सम्म बौद्ध इङ्लिस बोर्डिङ् स्कुलमा पढेँ । त्यसपछिको स्कुले शिक्षा रक्तकाली बोर्डिङ् स्कुल, क्षेत्रपाटीमा भयो । एसएलसी वि.सं. २०५६ सालमा प्रथम श्रेणीमा पास गरेँ ।

एसएलसीपछि ब्रुकफिल्ड कलेज सिनामङ्गलबाट प्रथम श्रेणीमै प्लस टु पनि सकाएँ । अनि सेल्स एन्ड मार्केटिङ्मा स्नातक पनि प्रथम श्रेणीमै पब्लिक युथ क्याम्पस, धोबीचौरबाट पूरा गरेँ । स्नातक गर्दै गर्दा एट्र्याक्सन नेपाल नामको एउटा कम्पनीमा सेल्स एण्ड मार्केटिङ् क्षेत्रमा बिजिनेश डिभेलप्मेन्ट अफिसरको काम पाएँ । त्यहाँ ७ महिना काम गरेर मैले जागिरे जीवन सुरुवात गरेको थिएँ ।

त्यसपछि काम गर्न नयाँ नयाँ रहरहरू लागिरहे । आफूभित्र कुन क्षमता छ पत्ता लगाउन वा आफूलाई इच्छा लागेका सबै कुराहरूमा आफूले सक्ने अधिकतम कोसिस गरेर हेर्न म धेरै खालका कामसँग जोडिएँ । ६ महिना कस्मिक एअरमा रिजर्भेसनमा काम गरेँ । एयरपोर्टमै काम गर्ने रहर थियो, त्यो पूरा नभएपछि छोडेँ । त्यसपछि आर्मीमा सेकेन्ड लेफ्टिनेन्ट तहमा जागिर खाने कोसिस गरेँ । सेनामा जागिर खान सबै चरणहरू पास भएरै अगाडि बढेको थिएँ, अन्तिममा गएर अन्तर्वार्तामा फ्याँकिएँ । 

त्यसपछि सुरु भयो एफएमको जागिर । स्टार एफएममा म्यानेजर भएर रमाइरहेका बेला एकजना साथीले दुबईको लागि राम्रो कोटा आएको बतायो । साथी म्यानपावर कम्पनीमै काम गथ्र्यो । त्यतिबेला धेरै नेपालीहरू कोरिया, खाडीलगायतका देशमा काम गर्न जाने लहर चलेको थियो । साथीले कोटा आएको बताएपछि मलाई पनि विदेश जाने हुटहुटी लाग्यो ।

उसकै म्यानपावरमार्फत् प्रति महिना ७० हजार रुपैयाँ तलबसहित सेल्सम्यानको कोटा आएको थियो । फ्री भिसा र फ्री टिकट सहितको यो कोटा निक्कै राम्रो थियो । साथीले यो काम मलाई सुहाउने खालको छ भनेर घच्घच्याएपछि मैले नपत्याई नपत्याई आवेदन दिएँ । कोटा दुई जनाको मात्र आएको थियो, तर फर्म सयौँले भरेका थिए । मेडिकल गरेँ । साथीले अन्तरवार्तामा सहयोग गर्‍यो । अन्तिम अन्तर्वार्ता सहजै सकियो र म छनोट पनि भएँ ।

ख्यालख्यालमै म अब विदेश जाने पक्का भयो । त्यसपछि मैले आफू विदेश जान लागेको कुरा सबैसँग भन्न थालेँ । एफएममा मैले आफू पास भएको र दुबई जान लागेको बताएँ, तर व्यवस्थापनले मेरो कुरा पत्याएन । म अर्को एफएममा जान लागेको होला भन्ने व्यवस्थापनको बुझाइ थियो । त्यहाँ मैले पत्रिकाको कटिङ् देखाएर विश्वास दिलाउनुपरेको थियो ।

म दुबई जाने हल्ला गाउँघर र साथीभाइबीच एक कान, दुई कान, मैदान हुँदै फैलियो, तर बिडम्बना, मलाई छनौट गर्ने कम्पनीले मेरो भिसा पठाइरहेको थिएन ।

विदेश जाने निश्चित भएर जताततै हल्ला चल्छ, तर भिसा नआउँदा औधी नै अप्ठेरो हुँदो रहेछ । जसले भेटे पनि कहिले जाने भनेर सोध्थे, तर आफूसित उत्तर हुँदैन थियो ।

त्यही बेला मैले एउटा अनुभव बटुलेँ – विदेश जान खुट्टा उचालेपछिको अवधिमा म्यानपावरले मानिसको इमोसनसँग खेल्दो रहेछ । एकपटक पासपोर्ट म्यानपावरको हातमा दिइसकेपछि मानिसभित्र विदेश जाने भूत नै चढ्ने रहेछ ! मभित्र पनि त्यही भूत सवार भइसकेको थियो । बोलेको कुरा पूरा गरेर देखाउनकै लागि भए पनि अब एकपटक दुबई त जानैपर्ने अवस्था सिर्जना भएको थियो । विदेश जाने कुरा एकपटक दिमागमा घुसेपछि त्यो मानिस एक दिन नगई छोड्दैन भन्ने कुरा पनि मैले त्यही अवधिमा अनुभव गरेँ ।

भिसा पर्खँदापर्खँदै ६ महिना बित्न लागेको बेला दुबईबाटै अल साया कम्पनीको अर्को एउटा अफर आयो । लजिस्टिक डिपार्टमेन्टको भ्याकेन्सी थियो र तलब थियो २५०० दिराम । मैले पहिले जसरी नै आवेदन दिएँ र छानिएँ पनि । त्यसपछि मात्र उडेको हुँ म सन् २००६ सप्ेटम्बरमा दुबईतर्फ । मेरो ड्युटी जाबेल अलि फ्री जोनमा थियो । फ्री जोनमा ६ महिना काम गरेपछि आफूले चाहेको खण्डमा अर्को कम्पनीमा काम गर्न पाइन्छ ।

सुरुको कम्पनीको कन्ट्र्याक्ट पूरा गर्नैपर्ने बाध्यता हुँदैन । पढे लेखेको, कम्प्युटर र अंग्रेजीमा राम्रो दखल भएकाले मैले गाह्रो काम गर्नुपरेन । लाइन म्यानेजरले मलाई पिकिङ् लिस्ट बनाउने, क्यु सिट चेक गर्नेजस्ता सजिला काममा लगाए । फ्री जोनमा काम गर्दा पनि टिम लिडर, सुपरभाइजरजस्ता पदहरूको अफर आएको थियो तर मेरो रुचि सेल्स एन्ड मार्केटिङ्मा मात्र थियो । त्यसैले कम्तीमा ६ महिनापछि मात्र अरु ठाउँमा काम गर्ने सोचेर कुनै पनि अफरहरू स्वीकार गरिनँ ।

६ महिनापछि मैले थाहा पाएँ मस्रेक ९ःबकजचभत्र० बैंकमा क्रेडिट कार्ड सेल्स अफिसरका लागि योग्य व्यक्तिको खोजी भइरहेको छ । मैले आवेदन दिएँ । नभन्दै म छानिएँ पनि । मेरो भाग्य नै होला, अल साया लजिस्टिकका म्यानेजर रसियाली नागरिक जमालले मलाई नयाँ काममा जान खुला दिलले बाटो देखाए । आफ्नै कम्पनीबाट छोडेर जाँदै गरेको एउटा अफिसरलाई उसको तीक्ष्णता देखेर थप प्रगति गरोस् भन्ने उद्देश्यले आफैँ राजीनामा पत्र टाइप गरिदिने म्यानेजर सायदै भेटिन्छन् ।

अर्को संयोगको कुरा, त्यतिबेलासम्म मस्रेक बैंकमा एउटा पनि नेपालीले काम गरेका थिएनन् । मस्रेक बैंकमा पहिलो नेपाली कर्मचारी भएर प्रवेश पाउनु पनि रमाइलो र राम्रो पक्ष थियो । काम सुरु गरेको ३ महिनामै मैले राम्रो प्रगति गर्न थालेँ ।

लजिस्टिकमा काम गर्दा चिनेका नेपाली साथीहरू नै मेरा ग्राहक बन्न थाले । सम्भवतः म यूएईमै पहिलो नेपाली बैंकर बनेँ । यसो हुँदा सबै नेपालीहरूले मस्रेक बैंकबाट क्रेडिट कार्ड लिनुपर्छ । त्यहाँ हाम्रो नेपाली मानिस छ भन्ने धारणा राखेर मकहाँ आउने नेपालीको सङ्ख्या बढ्दै गयो । अल सायाका प्रायः नेपालीहरूले ममार्फत् क्रेडिट कार्ड लिने क्रम बढ्यो । ३ महिनामै म बेस्ट सेल्स अफिसर भएँ । मेरो तलब बढ्यो, ग्रेड बढ्यो, बैंकभित्र मेरो मूल्याङ्कन राम्रोसित गरिन थाल्यो । सन् २००९ मा त म दुबईको मस्रेक बैंकको टप सेल्स अफिसर पो बन्न पुगेँ । 

पाँच वर्ष लगातार मस्रेक बैंकमा काम गरेपछि मैले युनाइटेड अरब बैंक, सारजहामा १ वर्ष काम गरेँ । यसरी एकपछि अर्को बैंकमा सफलता हात पर्दै आयो र बैंकहरूले मलाई राम्रोसँग चिन्न थाले । यो बीचमा पाएका पुरस्कारहरूले मेरो रोजाइको करियरमा सन्तुष्टि पनि थप्दै लग्यो । 

प्रविधिका हिसाबले नेपाल र यूएईको बैंकिङ्मा ठुलो अन्तर छ । नेपालमा बैंक नभए पनि धेरै काम चल्छ, तर यूएईमा बैंक नभई केही पनि कामै हुँदैन । यूएईमा ग्राहकलाई हृदयमा राखेर, उसलाई नै केन्द्रमा राखेर, उसको आवश्यकताका लागि कसरी सहज वातावरण बनाउन सकिन्छ भनेर विभिन्न प्रविधि, जनशक्ति व्यवस्थापन गरिन्छ ।

यहाँ हरेक बैंकका कर्मचारीहरूको कामको चेकलिस्ट हुन्छ । कसैले कुनै काम समयमा काम गर्‍यो कि गरेन भन्ने जाँचिन्छ । कारोबारपछि ग्राहकहरूको सन्तुष्टि असन्तुष्टिजस्ता कुराहरूमा फलो अप गरिन्छ । फलस्वरूप अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका बैंकहरूलाई पनि यहाँका स्थानीय बैंकहरूसँग प्रतिस्पर्धा गर्न कठिन छ । 

सन् २००६ देखि यूएईमा निरन्तर कार्यरत रहँदा मैले यहाँका बैंकबारे धेरै खालका अनुभव र अनुभूति सँगालेको छु । २०१३ जनवरीदेखि आजका मितिसम्म यहाँको एचएसबिसी बैंकमा कार्यरत छु । सन् २०१३ देखि सेल्स अफिसरका रूपमा प्रवेश गरेको एचएसबिसी बैंकमा हालसम्म काम गरिहेका दिनहरूमा मैले असन्तुष्ट हुनुपरेका दिनहरू नगण्य मात्र छन् ।

 पढाइ सँगसँगै आफूलाई निखार्ने काममा पनि म उत्तिकै जागरुक छु । मैले यो बीचमा बैंकिङ् विषयमा धेरै खालका तालिम र गोष्ठीहरूमा भाग लिन पाएँ । यसबाट आफ्नो क्षमता बढाउने प्रयत्न गरेको छु । आफू अगाडि बढौँ भनेर एमबिए दुबईमै बसेर पढेँ । यसरी यूएईमा कटेका मेरा १३ वर्ष सुखद छन् । 

सबै क्षेत्रमा एउटै मानिसले सफलता पाउने भन्ने हुँदैन तर एउटा सामान्य मानिसको सफल कोटीको जिन्दगीमा आफ्नो विषयमा यतिको उपलब्धि गर्नु सफलताकै द्योतक हो जस्तो मलाई लाग्छ । मलाई कहिलेकाहीँ लाग्छ, मार्केटिङ् गर्ने गुण मैले जन्मदै लिएर पो आएको थिएँ कि ! म नेपालमा हुँदादेखि आजका दिनसम्म यही क्षेत्रमा निरन्तर छु र पनि अझै मार्केटिङ्को काममै रमाउँछु । मेरो सफलताका पछाडि यो पनि एउटा कारण हुनुपर्छ । 

सफलताको सूत्रले पछ्याउन सुरु गरिसकेपछि मानिसले सोचेभन्दा ठुलो उपलब्धि पाइरहने रहेछ । यो अनुभव मैले तब गरेँ जब मैले “मेनाथ् कर्पोरेट सस्ट्यानिबिलिटी अवार्ड २०१५” प्राप्त गरेँ । पूरै मध्यपूर्व र नर्थ अफ्रिकाका स्वयंसेवकहरूको नेतृत्वदायी भूमिका गर्ने अति कम मानिसले मात्रै पाउने अवार्ड हो यो । वि.सं. २०७२ मा नेपालमा भूकम्पले पारेको प्रभाव कम गर्न मैले निरन्तर प्रयास र पहलकदमी गरेको थिएँ ।

त्यसैका आधारमा एचएसबिसी बैंकले मलाई यो अवार्डका लागि उपयुक्त सम्झियो । मेरा लागि यो खुसी अविस्मरणीय छ । मेनाथ् (मध्यपूर्व, नर्थ अफ्रिका र टर्की) क्षेत्रका देशहरूमा बैंक अफिसर वा व्यवस्थापकहरूबीच एकापसमा सहभागिता गराउनु, त्यही सहभागितामा यूएईको प्रतिनिधित्व गरेर आफूले अन्तर्राष्ट्रिय गरिमाको पुरस्कार पाउनु मेरा लागि मात्रै नभएर सिङ्गो यूएई र नेपाली समुदायले गौरव गर्ने विषय हो भन्ने मैले महसुस गरेको छु ।

तेह्र वर्ष दुबई बसिसक्दा पनि मलाई आज पनि यहाँ आफू नयाँ नै छु जस्तो लाग्छ  । यहाँ हरेकपटक मलाई नयाँपन महसुस हुन्छ । यहाँको विकास र परिवर्तन यति चाँडचाँडो हुन्छ कि मलाई पुरानो ठाउँमा बसेको जस्तै लाग्दैन । नयाँपन देखिरहन पाइन्छ यहाँ । यहाँ काम गरेर नेपालमा जग्गा जोडेँ । अष्ट्रेलियामा पढ्ने भाइको सपनालाई साकार पार्न सघाएँ । ऊ अहिले उतैको पीआर होल्डर भएको छ ।

आमाबुवा नेपालमा हुनुहुन्छ । श्रीमती र म दुबईमा छौँ । श्रीमती एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत छिन् । छोरी यतै जन्मेकी हुन् । यहाँ सबै कामदारहरूको मेडिकल बीमा गरिएको हुन्छ । त्यसैले बच्चा जन्मँदा पनि मेरो व्यक्तिगत खर्च लागेन । मेरो बीमाकै खर्चबाट यो सबै भयो । बिरामी पर्दा वा अन्य बेलामा पनि उपचार मेडिकल बीमाबाटै हुन्छ । बीमा नहुँदाचाहिँ यहाँको उपचार खर्च महँगो छ । बेबी सिटर राखेर बच्चाको संस्कार दिन सकिँदैन भन्ने मलाई लाग्छ । त्यसैले अलि हुर्केपछि छोरीलाई बुवाआमासँगै नेपालमै छोडको छु । 

मान्छेलाई परेको बेला मान्छे नै काम लाग्छ भन्ने मान्छे हुँ म । जति पैसा कमाए पनि मानिसको अनुहारमा मुस्कान ल्याउन सकियो भने त्यो सफलता हो जस्तो लाग्छ । कामको चापले गर्दा म नेपाली सङ्घसंस्थाहरूमा भिज्न पाएको छैन, तर यूएईको सबैभन्दा पूरानो क्लब काष्टमण्डप फुटबल क्लब छ । सबैजना भेट हुने उद्देश्यले सन् २००८ मा हामीले नै यसको सुरुवात गरेका हौँ ।

यो क्लबमार्फत् म नेपालीहरूसँग जोडिइरहन्छु । बीच बीचमा काष्टमण्डप सुपर लिग भनेर डेढ दुई महिनासम्म चल्छ । यो यूएईको सबैभन्दा लामो लिग हो । यसमा हामी नेपाली दाजुभाइहरू मात्रै खेल्छौँ । हामीले लगातार यो लिग आयोजना गरेको ४ वर्ष भयोे । म इभेन्ट कोअर्डिनेटरको रूपमा थिएँ । तेश्रो वर्षमा वाइवाइ हाम्रो मुख्य स्पोन्सर थियो । चौथोमा डिडिए ग्रुपले ग¥यो । यूएईमा बसेर राम्रो खेलाडीहरूलाई निखार्ने हाम्रो कोसिस हो यो । 

सामाजिक सञ्जालबाट पनि म नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग जोडिएको छु । कसैलाई परेको अप्ठेरोमा होस्टेमा हैँसे गर्ने गरेको छु । यूएईमा थुप्रै सम्भावनाहरू छन् । हामी यतै बस्ने नेपालीहरूले पनि फुर्सदका बेला फेसबुक, ट्विटरमा यस्ता सम्भावनाहरू अरु समक्ष उजागर गरिदिएर अरुलाई मौका दिनु साह्रै उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । एउटा सानो उदाहरण नेपाली पण्डित खोज्दा हामी यूएईभरिमा पण्डित पाउँदैनौँ ।

पण्डितका लागि त्यो नै ठुलो अवसर हुन सक्छ भने हाम्रा लागि पनि त्यो एउटा अवसर हुन्छ । बिदा वा फुर्सदका बेला नकारात्मक कुराहरू लेखेर सामाजिक सञ्जालमा हराउनुभन्दा यस्ता किसिमका सबै नेपालीलाई सहज हुने कुरा गरेर हामीले हाम्रो समुदायको हित गर्न सक्छौँ । गुगल वा युट्युबबाट हामीले आफ्नो सिप वा क्षमता बढाउन सक्छौँ ।

फुर्सदका बेला आफूले जन्मदै लिएर आएको गुणलाई बढाउने कोसिस गर्ने हो भने हामीले पनि आफूलाई यूएईमा काम गरिरहेका अमेरिकी वा युरोपेली नागरिकभन्दा कमजोर ठान्नुपर्दैन । यो सबैका लागि साझा कानुन भएको देशमा बसेर हामीले यहाँको अधिकतम सुविधालाई उपयोग गर्न सक्यौँ भने त्यो हाम्रा लागि नै उत्पादनमूलक बन्ने छ ।

यूएईमा पीआर नपाउने हुनाले कतिपय नेपालीले यो गन्तव्यलाई असुरक्षित ठान्छन् । अष्ट्रेलिया, अमेरिका, युरोपलगायतका देशहरूमा बस्ने नेपालीहरू घर आउँदा लामो योजना बनाएर मात्रै आउनुपर्छ । सबैको कथा त मलाई थाहा छैन तर मेरै भाइ अष्ट्रेलियाबाट बिदामा नेपाल आउने बेला लामो योजना बनाएर मात्रै आउन सकेको उदाहरण मेरै घरभित्र छ ।

हामीलाई त नेपालसँग समयको अन्तर पनि १ घन्टा ४५ मिनेट मात्रै हो । फ्लाइट टन्नै हुन्छन् – दिनको ७, ८ वटासम्म । चार घन्टाको उडानमा आफ्नो देश पुगिन्छ । मेरो बुवाआमालाई जहिले पनि जेठो छोरो साथमै छ जस्तो लाग्छ । हामीलाई नेपाल फर्किनैपर्छ । त्यो नै यहाँको राम्रो पक्ष हो । त्यसैले म त भन्छु, अरु देशमा बस्नेहरूले पनि खाडीमा बस्नेहरूप्रति गर्व गर्नुपर्छ । सरकारले गर्व गर्नुपर्छ ।

नेपाल सरकारले गैर आवासीय नेपालीहरूलाई जसरी एउटा अस्तित्वको साथ पहिचान गरेको छ, ठीक त्यसैगरी खाडीमा बस्नेहरूका लागि एउटा छुट्टै अस्तित्वको पहिचान दिनु जरुरी छ । यहाँ कमाएको सबै पैसा हामी नेपालमै लगानी गर्छौँ । अरु देशमा बस्नेहरूले कमाएको सबै नेपालमा ल्याउँछु भने पनि सम्भव छैन ।

नेपाली मनले त नेपाल नै लैजाऊँ भन्छ होला तर विदेशमा बस्दाको बाध्यता, सम्बन्धित देशको नियम कानुनले उनीहरूलाई बाँधेको हुन्छ । हामीलाई त यूएईले कमाइ गरेको रकमबाट ट्याक्स समेत तिर्न लगाउँदैन र सबै पैसा नेपालभित्रै लान दिन्छ । खाडीमा बस्नेहरू हामीले जति कमाउँछौ, सबै नेपालमै लैजान्छौँ  ।

मलाई लाग्छ अमेरिका, युरोप वा अष्ट्रेलिया जानेहरू पैसा कमाउँछु भनेर गएकै हैनन् । कोही बुझेर गएका होलान् वा कोही नबुझी गएका छन् । जसरी गए पनि अमेरिका जानेबित्तिकै पैसा कमाउनेभन्दा बढी ग्रीन कार्ड लिने आवश्यकता हुन्छ ।

अष्ट्रेलिया जानेहरूको लक्ष्य नै पीआर लिने हुन्छ । उता गएपछि आफ्नो, श्रीमान् वा श्रीमतीको स्थायित्व, बच्चाहरूको शिक्षाको योजना, रिटायर्ड लाइफका प्लानहरूजस्ता दीर्घकालीन कुरा सुरु हुन्छन् । पैसा मात्रै कमाएर बस्न सम्भवै हुन्न त्यहाँ । त्यसैले पिआर, ग्रीनकार्ड वा पलायनको इच्छा भएकाहरू यूएईमा आएर कामै हुन्न । पैसा मात्रै कमाउने हो र विविध विश्व संस्कृति हेर्न र सिक्ने हो भनेचाहिँ यहीँ आउनुस् ।

यूएई बस्नेहरू सबैले सोच्छन् “नेपालमा गएर मैले केही गर्नुपर्छ ।” जति पनि नेपाली खाडीमा छन्, उनीहरू सबैले दिने जवाफ हो यो । विदेश जाने नेपाली दुई खालका छन् । एउटाले भन्छ – केही वर्ष विदेश बसेर कमाउँछु र पछि फर्केर नेपाल आउँछु । अर्कोको सोचाइ भिन्न छ – विदेश गएर उतै पलायन हुन्छु ! पलायन नै हुन खोज्नेहरूका लागि यूएई विल्कुल गलत गन्तव्य हो ।

त्यो सोच भएकाहरू दुबई वा खाडी देशहरूमा नआए हुन्छ किनकि उनीहरू यता आए भने उनीहरूलाई निराशा ९ाचगकतचबतष्यल० सिवाय केही मिल्दैन ! तर नेपाल फर्किन्छु भन्नेहरूलाई दुबई सुन फल्ने धर्ती हो । हल्लाकै भरमा वा अरुको लहैलहैमा लागेर मात्रै आएर त केही पनि पाइन्न, तर आफूमा भएको गुण पहिचान गरेर, क्षमतामा निखार ल्याएर, यहाँको कामको प्रकृति, कम्पनीबारे राम्रोसँग बुझेर, यताको कानुनलाई बुझेर ती सबैमा अनुशासित भएर बस्ने र गर्ने हो भने प्रचुर सम्भावनाहरू छन् यूएईमा ।

विदेशमा काम गर्दा दुई कुरा औधी ख्याल गर्नुपर्छ । पहिलो हो गोजीमा पैसा छ भने मात्र दिमाग पनि मज्जाले चल्छ मानिसको । त्यसैले बचाउन कन्जुस्याइँ गर्नुहुँदैन । थोरैथोरै बचतले पनि हामीलाई ठुलो सहयोग गर्छ । एक थुकी सुकी हजार थुकी नदी भनेजस्तै थोरै थोरै बचतबाट जम्मा गरेको पैसालाई सानै ठाउँमा भए पनि लगानी गर्ने बानी गर्दा आर्थिक रूपले हामी सबल हुँदै जान्छौँ ।

हामी धेरै नेपालीमा बचत गर्दा ब्याज हेर्ने बानी छ, तर सेयर वा ठूला प्रोपर्टीहरूमा लगानी गर्दा पनि हामी वित्तीय रूपमा सुरक्षित हुँदै जान्छौँ र भविष्य सुरक्षित हुँदै जान्छ भन्ने मेरो बुझाइ छ ।

दोस्रो कुरा प्रवासमा बस्ने हरेक नेपाली देशका दूत हुन् भन्ने कुरा कहिल्यै भुल्नुहुँदैन । मैले यूएईमा राम्रो काम गरेँ भने यहाँको कम्पनी, देश वा सरकारले शैलेन्द्रले मात्र गर्‍यो भनेर भन्दैन । एउटा नेपालीले राम्रो काम गरेको भनेर मेरो पहिचान बन्छ । त्यस्तै यदि यहाँ बसेर मैले खराब आचरण प्रदर्शन गरेँ, कुनै क्षुद्रता देखाएँ वा निम्न स्तरको व्यवहार गरेँ भने मैले नेपालको नाम बिगारिरहेको हुन्छु ।

प्रवासमा बस्नेहरूले साह्रै सचेत हुनुपर्ने विषय हो यो । त्यसैले हामी प्रवासमा बसिरहेकाहरू एक किसिमले अघोषित दूत हौँ नेपालको । हामीले आफ्नो मन र मुटुमा देश बोकेर हिँडिरहेका छौँ । चाहे अमेरिकामा बस्ने नेपाली होस् वा अष्ट्रेलियामा, युरोप वा अफ्रिका जहाँ पुगेका नेपालीले पनि नेपाललाई बोकेरै हिँडेका छौँ भन्ने कुराले मेरा लागि धेरै महत्त्व राख्छ । 

शैलेन्द्र खड्का
जन्मस्थान : सिमलटार, आरूबारी, काठमाडौं
(हाल : एचएसबीसी बैंक, यूएईमा कार्यरत)

(यो कथा यूएईले बाँडेको मुस्कान पुस्तकभित्र संग्रहित छ । यूएई बस्ने ४० जना सफल नेपालीहरुको जीवनमा आएको सकारात्मक परिवर्तनका कथाहरुको संकलन रहेको यो पुस्तक बुलबुल पब्लिकेशनले बजारमा ल्याएको छ । आउँदो शुक्रवार अबुधाबीस्थित नेपाली राजदूतावासमा पुस्तक विमोचन हुँदैछ ।)
 

अन्तिम अपडेट: फागुन ११, २०७६

तपाईको प्रतिक्रिया