यूएईमा घरेलु कामदार सुरक्षित भएको भन्दै वैधानिक रुपमा आउने व्यवस्था गर्न माग

 फागुन २५, २०७६ आइतबार १२:१८:२० | उमाकान्त पाण्डे

यूएई -घरेलु कामदार सुरक्षित भएकाले वैधानिक रुपमा यूएई आउन र नेपाल फर्किने वातावरण सृजना गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

ओमान र साउदी अरबको भ्रमण सकाएर शुक्रबार यूएई आइपुगेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले शनिशार नेपाली दूतावास आबुधाबीमा यहाँ कार्यरत कामदारसँग छलफल गरेको थियो । छलफलमा सहभागी बिभिन्न संघसँस्थाका प्रतिनिधिहरुले घरेलु कामदारलाई वैधानिक रुपमा आउने बाटो खुलाउने व्यवस्था गर्न माग गरेका हुन् ।

विभिन्न बहनामा कामदार समस्यामा पर्दा सरकार र सम्बन्धित देशका नेपाली नियोगहरुले गर्ने ढिलाईले कामदारको समस्या समाधानमा कठिनाई हुने गरेको उनीहरुको गुनासो छ । यूएई कामदारको अधिकारका लागि अरु देशभन्दा सुरक्षित गन्तव्य देश रहेकाले घरेलु कामदार आउने बाटोलाई सहज बनाइदिन उपस्थित सरोकारवालाले अनुरोध समेत गरेका छन ।  

‘घरेलु कामदारका लागि यूएई र ओमान सुरक्षित, साउदी अरब अझै जोखिम’  

घरेलु कामदारका लागि यूएई र ओमान सुरक्षित रहेको र साउदी अरब अझै पनि जोखिम रहेको भन्दै संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले यसपटक घरेलु कामदारको बाटो खुल्ला गर्नेतर्फ संकेत गरेको छ ।

अध्ययनपछि आफ्नो प्रतिवेदन सहित सरकारलाई निर्देशन गरिने भन्दै समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले ओमान र यूएईमा घरेलु कामदार सुरक्षित रहेको आफूहरुले पाएको बताउनुभयो । 

यी दुई देशमा कसैले पनि घरेलु कामदार असुरक्षित भएको बताउनु भएन, तर साउदीमा भने अझै पनि जोखिमपूर्ण अवस्था रहेको र त्यहाँ कार्यरत कामदारले घरेलु कामदार ल्याउन नहुने धारणा राखेको श्रीवास्तवले बताउनुभयो ।

प्रतिवन्ध फुकुवा गर्ने सन्दर्भमा भने कामदार कार्यरत देशअनुसार निर्णय हुन सक्ने उहाँको संकेत थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले दबाब र प्रभावमा परेर घरेलु कामदारमाथिको प्रतिबन्ध खोल्ने वा बन्द गर्ने भन्ने विषय नभएको बताउनु भयो।

यूएई कानुनतः सुरक्षित र बलियो भएको भन्दै कामदार हकअधिकारको संरक्षणका लागि यहाँ अलग्गै व्यवस्था भएकोले त्यसतर्फ खासै चिन्ता लिनु नपर्ने उहाँको भनाई छ ।

मानव अधिकारका हिसाबले महिला पुरुष भनेर छुट्याउन नहुने तर गन्तव्य देशका विद्यमान कानुन र व्यवस्थाको अध्ययन गरेर आफूहरुले सुझाव सहित प्रतिवेदन प्रस्तुत गर्ने पाठकको भनाइ छ ।

टोली ओमान, साउदी अरब हुँदै शुक्रबार यूएई आइपुगेको हो । टोली कुवेत जाने कार्यक्रम थियो । कुवेतले कोरोना भाइरसको सङ्क्रमणको कारण देखाउँदै भिसा जारी नगरेको र यस पटक नआउन भनेपछि टोली यूएईमा ४ दिन बसेर नेपाल फर्किने भएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया