विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइँदै, बेरोजगार भए खाने बस्ने व्यवस्था मिलाउन निर्देशन

 चैत १२, २०७६ बुधबार १८:४:१६ | रासस

काठमाण्डौ – नेपालका प्रमुख श्रम गन्तव्य देशमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाका बारेमा जानकारी लिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत बुधबार विभिन्न पाँच देशका राजदूतसँग नेपाली श्रमिकको अवस्थाबारेमा जानकारी लिनुभएको हो । 

उहाँहरुले मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतसँग जानकारी लिनुभएको थियो । छलफलमा मन्त्रीद्वयले कुनै पनि नेपाली श्रमिक बेरोजगार भए उनीहरुको खाना, बस्न उचित प्रबन्ध मिलाउन निर्देशन दिनुभएको श्रम मन्त्रालयले जनाएको छ । 

सरकारले सोमबार पनि विभिन्न मुलुकमा रहेका नियोग प्रमुखसँग छलफल गरी त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएको थियो । नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, दक्षिण कोरिया, ओमन र कुवेतलगायत देशमा कोरोना भाइसरको सङ्क्रमण देखिइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया