लकडाउनका कारण नाका सुनसान

 चैत १३, २०७६ बिहिबार १३:५८:४० | राेशन केसी
unn.prixa.net

फाइल तस्बिर

यतिबेला विश्व नै कोभिड-१९ महामारीको चपेटामा रहेको छ । यसको रोकथामका लागि सबैतिर प्रयास भइराखेको छ । कोभिड-१९ लाई रोकथाम गर्ने सबैभन्दा राम्रो प्रयास भनेको मानिस मानिसबीच रहेको भौतिक सम्पर्क छुटाउनु रहेको विज्ञहरुले सुझाएका छन् ।

यसैलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि चैत १८ गतेसम्म रहनेगरी देश लकडाउन गरेको छ । यसैले गरेर अहिले व्यस्त देखिने देशका धेरै बाटो,नाकाहरु सबै शून्य जस्तै भएका छन् । यो भाइरसको संक्रमणको जोखिम बढेसंगै काठमाण्डौ छोड्ने मान्छेको संख्या बढेको थियो भने अहिले काठमाण्डौ भित्रिने र बाहिरिने नाका खाली जस्तै भएका छन् ।

फर्पिङ नाका 

सरकारले लकडाउन घोषणा गरेपछी हेटौंडा हुँदै काठमाण्डौ भित्र आउने र जाने नाकाको रुपमा रहेको फर्पिङमा अत्यावश्यक खाद्यान्न, दूध, पानीबाहेकका गाडीहरु चलेका छैनन् । फाटफुट रुपमा सरकारी पास भएका गाडी चलेको फर्पिङ ट्राफिक प्रभागले जनाएको छ ।

सरकारले गरेको लकडाउनको जानकारी नपाएका विरगञ्ज र आसपासका ठाउँबाट काम लागि आएका केही कामदारहरु आज पनि जाने क्रम रहेको र उनीहरुलाई लिन विरगञ्जबाटै मोटरसाइकलमा आफन्त आएका प्रभागले जनाएको छ ।

लकडाउनको पहिलो दिन फर्पिङ हुँदै २१ गाडी र  ७८ मानिस भित्रिएका थिए भने ४६ गाडी र १७० मानिस बाहिरिएका थिए । त्यस्तै दोस्रो दिन २६ गाडी र ६६ मानिस भित्रिदा ४४ गाडी  १३४ मानिस बाहिरिएका थिए । 

मुड्खु भञ्ज्याङ नाका

सामान्य दिनमा सय जति गाडी आउने र जाने मुड्खु भञ्ज्याङ्मा लकडाउनको दुईदिन नगन्री मात्रामा गाडी गुडेका छन् । मुड्खु हुँदै भित्रिने र बाहिरिने गाडीमा अत्यावश्यक सामाग्री, पानीको टयाङकर, खाद्यान्न, एम्बुलेन्सका गाडीहरु मात्रै चलेको मुड्खु भञ्ज्याङ इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रेम आचार्यले बताउनु भयो।

मुड्खु भञ्ज्याङ नाका प्रयोग गरी फोहोर व्यवस्थापनको लागि गाडीहरु गुड्ने भएकोले ती गाडीहरु गुडिरहेको उहाँले बताउनुभयो । मुड्खुबाट निस्कने र बाहिरिने गाडीको जाँच गर्नका लागि मास्कको प्रयोग गरी कम्तीमा २ मिटरको दूरी कायम गरिएको छ ।

भक्तपुर 

काठमाण्डौ भित्रीने अर्को महत्वपूर्ण नाका हो,  भत्तपुर । लकडाउनभन्दा अघि सामान्य बेलामा १० हजार माथि गाडीहरु भित्रिने र बाहिरिने भत्तपुरमा लकडाउन कारण न्यून गाडी मात्र चलेको भत्तपुर जगाती चेकपोस्टले जनाएको छ ।

लकडाउन अघि १ सय ५० देखि २ सय वटा मालबाहक गाडीहरु भित्रिने र त्यति नै मात्रामा बाहिरिने भत्तपुरबाट लकडाउनको पहिलो र दोस्रो दिन गरी जम्मा ५० वटा मालबाहक गाडीहरु भित्रीए भने ८५ बाहिरिए । लकडाउनको यो समय ७५ वटा ब्यतिगत गाडीहरु छिर्दा १०० बहिरिएका छन् ।  

अत्यावश्यक गाडीहरुमा भत्तपुर प्रयोग गरि काठमाण्डौ भित्रिने गाडीमा एम्बुलेन्सको संख्या धेरै रहेको जगाती चेकपोस्टले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले दिएको पास प्रगोग गरी हिँड्नेको सङ्ख्या फाट्टफुट्ट रहेको र काठमाण्डौ भित्रिनेभन्दा बाहिरिने धेरै रहेको भक्तपुर ट्राफिक प्रहरी चेकपोस्टले जनाएको छ ।

नागढुङ्गा नाका 

काठमाण्डौबाट बाहिरिने र उपत्यका भित्रिने मुख्य नाका नागढुंगा-कलंकी सडकखण्डमा गएको २४ घण्टामा ४९ वटा गाडीमा ११५ जना यात्रु काठमाण्डौ उपत्यका भित्रिएकाछन् भने ८४ वटा गाडीमा २ सय १४ जना यात्रु काठमाण्डौबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखा, नागढुंगा इकाइका प्रहरी नायव निरीक्षक ज्ञानबहादुर गाहाले जानकारी दिनुभएको छ ।

उहाँकाअनुसार यस अवधिमा २१ वटा मालवाहक ट्रक उपत्यका भित्रिंदा २० वटा बाहिरिएका छन् ।

लकडाउनको समय भएकाले यस नाकाबाट ओहोरदोहोर गर्ने गाडीको संख्या निकै कम छ । यसअघि यस सडक खण्डमा दैनिक झन्डै ३० हजारको हाराहारीमा सवारी साधन काठमाण्डौ भित्रिने र बाहिरिने गर्छन् भने दैनिक ५ देखि ७ हजार यात्रु आवातजावत गर्छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया