विदेशीले सोध्छन्– ‘नेपाल आउन कहिले पाइन्छ ?’ व्यवसायीसँग छैन जवाफ

 साउन १५, २०७७ बिहिबार १९:३९:६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – झण्डै साढे चार महिनापछि बिहीबारदेखि पर्यटकीय व्यवसाय खुलेका छन् । २०७५ सालको चैतको सुरुदेखि बन्द रहेका टुर र ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्वतारोहण, होटललगायतका पर्यटकीय व्यवसायका शटर बिहीबारदेखि खुलेका छन् । तर नेपालमा कोरोनाको सङ्कट बढ्दै गएको र धेरै देशले पर्यटकलाई नेपाल जान रोक लगाएकाले अहिले नै पर्यटकीय गतिविधि सञ्चालन हुने अवस्था छैन ।

विदेशीले ट्रेकिङ जान कहिले पाइन्छ भनेर सोध्छन्, हामीसँग जवाफ छैन : सुवेदी

बिहीबारदेखि शटर खोले पनि ग्राहकको टुङ्गो नभएकाले आफूहरुको व्यवसाय कहिलेदेखि चल्ने भन्ने टुङ्गो नलागेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ् नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले बताउनुभयो । केही देशले आफ्ना नागरिकलाई नेपाल जान रोक लगाएको, उडान प्रतिबन्धमा रहेको र विभिन्न देशका फरक–फरक स्वास्थ्य सुरक्षा मापदण्डका कारण तत्कालै व्यवसाय चल्न मुस्किल रहेको सुवेदीले बताउनुभयो । 

‘हामीलाई विदेशबाट फोन र इमेलमार्फत ट्रेकिङ कहिले जान पाइन्छ भनेर सोधिरहेका छन्, होटलको अवस्था के छ, भिसा खुल्यो कि खुलेन, स्वास्थ्य मापदण्ड के–के छन् भनेर पनि पर्यटकले जिज्ञासा राख्न थालेका छन्, हामीसँग खासै जवाफ छैन’, टानका अध्यक्ष सुवेदीले भन्नुभयो । 

नेपालमा कोरोनाको सङ्क्रमण दर केही कम भएमा आउँदो मुख्य सिजनमा केही पर्यटक आउने झिनो आसा रहेको सुवेदीको भनाइ छ । 

देशभर अहिलेसम्म पर्यटन विभागमा दर्ता भएका ट्रेकिङ एजेन्सीको सङ्ख्या दुई हजार सात सय रहेको छ ।   

शटर नै बन्द गर्दा आत्तिएको मन भुलाउने मेसो मात्रै सरकारले मिलाइदिएको तर देशभित्र र बाहिरको अवस्था हेर्दा तत्कालै पर्यटकीय गतिविधि नखुल्नेमा व्यवसायीहरु नै ढुक्क रहेको सुवेदी बताउनुहुन्छ । 

सरकारले थप काम गरिदिनुपर्छ : गुरागाईं

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईं सरकारले आफ्नो व्यवसाय खोल्न दिएर राम्रो काम गरेको तर धेरै काम र सहजीकरण गर्न बाँकी रहेको बताउनुहुन्छ । 

तर विदेशीहरु नेपाल आउँदा अनअराइभल भिसा पाउने कि नपाउने, यहाँ आएपछि कति दिन क्वरेण्टीनमा बस्नुपर्ने, पीसीआर जाँच के हुने, काठमाण्डौबाट बाहिर जाँदा कस्ता गाडीमा जाने लगायतका विषयमा सरकारले प्रस्ट पारिदिनुपर्ने गुरागाईँको माग छ । 

यस्तै नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर जाँच हुनुपर्ने, १४ दिनको क्वरेण्टीनलाई बढीमा पाँच दिनमा झार्नुपर्ने, काठमाण्डौबाट अन्यत्र जाँदा जहाज या पर्यटक बसमा मात्रै जानुपर्ने लगायतका नियम लागू गर्न पनि माग गरेको छ । सरकारले पहल लिएमा आउँदो असोज, कात्तिक, मङ्सिरमा पोहोरको तुलनामा २० प्रतिशत पर्यटक आउन सक्ने नाट्टाका अध्यक्ष गुरागाईंको भनाइ छ  । 

‘विदेशबाट नेपाल कहिले आउन पाइन्छ भनेर सोध्न थालेका छन्, पहिलेका केही बुकिङ पनि रद्द भएका छैनन्, सरकारले सहजीकरण गरेमा केही पर्यटक आउन सक्छन्’, गुरागाईंले भन्नुभयो । 

देशभर तीन हजार पाँच सय ट्राभल एजेन्सी दर्ता रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।    

सुरक्षित हुँदै व्यवसायलाई फेरि ब्युँताउनुपर्छ : सिर्जना राणा

होटल सङ्घ नेपालकी अध्यक्ष सिर्जना राणा अहिले होटल खुल्नेबित्तिकै ठूलो आम्दानीको अपेक्षा राख्न नहुने बताउनु हुन्छ । अहिले बिस्तारै होटल खोल्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्ने र होटल सुरक्षित छन् भन्ने सन्देश दिएपछि बिस्तारै व्यापार बढ्ने बताउनुहुन्छ  । 

‘अहिले ग्राहक तान्नलाई होटलको शुल्क घटाउने, सेवा सुविधा घटाएर सस्तोमा रुम दिने, २/४ दिन पाहुना नहुँदा आत्तिने गर्‍याे भने त्यसले अर्को समस्या निम्त्याउँछ, त्यसैले हामीले स्टान्डर्ड कायम राख्दै व्यवसाय अघि बढाउनुपर्छ’, राणाले भन्नुभयो । 

नेपाल पर्यटन बोर्डले गरेको अध्ययनअनुसार २०७५ सालसम्म पर्यटन विभागमा एक सय २९ वटा तारे होटल, एक हजार दुई सय पर्यटकस्तरीय होटल छन् । साना ठूला गरेर देशभरि ६५ हजारभन्दा धेरै होटल रहेको व्यवसायीहरुको दाबी छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया