बरु घरबाट पैसा मगाएर भए पनि टिकट काटौंला, तर उडान बन्द नगरियोस् !

 साउन २३, २०७७ शुक्रबार १४:५७:८ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

जीवन न्यौपाने/झापा, हाल यूएई

अहिले नेपालमा कोभिड १९ को सङ्क्रमण बढेको छ । देशका मुख्य सहरहरुमा यसको असर तीव्र गतिमा छ ।

यति मात्र नभएर समुदायस्तरमा पनि फैलिरहेको र दिनहुँजसो नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएको खबर विभिन्न सञ्चार माध्यमहरुबाट सुनिरहेका छौँ ।

परदेशमा बसेर स्वदेशका यस्ता खबर सुन्दा मन विक्षिप्त हुन्छ । धेरै जिल्ला, सहरहरुमा पुनः लकडाउन गर्न थालिसकिएको छ । आवश्यक परे कर्फ्यु पनि गरिने भन्ने छ । तर यता प्रवासमा रहेका हामीहरु स्वदेश फर्किने दिन कुरेर बसिरहेका छौं ।

कतिको रोजगारी गुमेको छ भने कतिको करार अवधि तथा भिसाको म्याद सकिएको छ । लामो समयदेखि बेरोजगार बस्नुपर्दा निराश भएका धेरै नेपालीहरुको मन केही भए पनि आशा जागेको थियो । फेरि त्यस्तै निराशामा परिणत भएको छ ।

भदौ १ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुने भनेर गरिएको निर्णयमा पुनर्विचार गर्ने तथा उद्धार उडान पनि रोक्न सकिने भनेर सरकारले नै भनेको छ । यसको असर कति मानिसमा पर्ने हो भन्ने कुराको अनुमान रहेनछ सरकारलाई ।

जीवन मरणको दोसाँधमा रहेका हामी नेपालीहरु परदेशमा अब के आशा गरेर बस्ने ? बल्लतल्ल नियमित उडान हुने निर्णय पनि पुनः रोक्नेसम्मको सम्भावना रहेको र अलपत्र नेपालीहरुको नेपाल फिर्ती उडान पनि बन्द गर्ने जस्ता निराशाजनक समाचार सुन्दा मनमा धेरै नै निराशा छाएको छ । आफ्नै मातृभूमि फर्किनको लागि पनि हामीले कति महिना कुर्नुपर्ने हो ?

सुरुमा कोरोनाको कारण कम्पनी बन्द भएपछि घर जान आतुर हुनुभएका नेपालीहरुमध्ये कतिपयको कम्पनीहरुले काममा बोलाइसकेको छ । पुनः रोजगारीमा पनि फर्किसक्नु भएकाहरु नेपालको अवस्था सहज भएपछि मात्र घर जाने विचारमा हनुहुन्छ । तर जो रोजगारबिहीन हुनुहुन्छ, जो लामो बिदामा हुनुहुन्छ, समस्यामा हुनुहुन्छ उहाँहरु भने सरकारका निर्णहरु हेर्दै देश फर्किन पाइने समाचारको पर्खाइमा हुनुहुन्छ ।

त्यसैले अवस्था जस्तोसुकै भए पनि स्वास्थ्य सुरक्षा अपनाएर समस्यामा परेकाहरुलाई देश फर्किन सहज वातावरण मिलाइयोस् ।

नियमित उडानमा बरु केही परिवर्तन गरेर व्यवस्थित रुपमा सञ्चालन गरियोस् । त्यो पनि भएन तथा परिस्थितिले नियमित उडान केही दिन बन्द गर्न परे पनि बिन्ती छ, उद्धार उडान भने बन्द नगरियोस् ।

सरकार ! अलपत्र नेपालीहरुको घर फिर्ती उडानमा कुनै पनि अवरोध नहोस् । बरु ऋण नै सही, घरबाट पैसा मगाएर टिकट काटौंला तर घरफिर्ती उडान सहज बनोस् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया