३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै

 मंसिर १२, २०७७ शुक्रबार ८:४९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरस महामारीकाबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै छ ।

विगतका वर्षहरुमा १२ दिनसम्म दैनिक विभिन्न पौराणिक विष्णु पुराणमा आधारित नाच प्रदर्शन गरिँदै आएको कार्तिक नाच यसवर्ष २ दिनमा सीमित गरिएको छ । आज बराह अवतार प्रदर्शन गरिने छ । आज बेलुकी ८ बजेपछि ललितपुर मंगलबजारको कात्तिक डबलीमा बराह अवतारको नाच प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।

३ सय ७९ वर्षदेखि निरन्तर रुपमा प्रदर्शन गरिँदै आएको कारणले परम्परालाई कायम राख्न यो वर्ष नाच २ दिन भए पनि देखाउने निर्णय भएको चित्रकारको भनाइ छ । कोरोना सङ्क्रमण जोखिमका कारण नाचमा १८ वर्षभन्दा मुनिका र ६० वर्षभन्दा माथिका कलाकारहरु समावेश नगरिने पनि उहाँले बताउनुभयो ।

आज बेलुकी नाच प्रदर्शन गरिने पाटन दरबार क्षेत्रलाई सिल गरेर अति-आवश्यक कलाकार मात्र बसेर विभिन्न माध्यमबाट नाच हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । भोलि बेलुका नाचको मुख्य आकर्षण नृसिहं अवतार देखाइनेछ । ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालादेखि यो नाच निरन्तर प्रदर्शन हुँदै आएको छ । मल्लकालमा २७ दिनसम्म नाच प्रदर्शन गरिएको उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया