दक्ष जनशक्ति उत्पादन गर्न इलाममा तीन करोडको परियोजना सुुरु

 मंसिर १६, २०७७ मंगलबार २०:३२:५३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – बेरोजगारहरुलाई सीप सिकाइ दक्ष बनाएर रोजगारी दिन इलाममा ‘दिगो रोजगारीको लागि सीप विकास परियोजना’ सुरु भएको छ । युरोपेली युनियनको लगानी, ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता कार्यक्रम अन्तर्गतको दिगो सीप विकास परियोजना उद्योग वाणिज्य सङ्घ इलामले कार्यान्वयनमा ल्याएको हो ।

मङ्गलबार एक कार्यक्रमको आयोजना गरी (कोभिड–१९) महामारीका कारण अधिकांशले रोजगारी गुमाइरहेको बेला पर्यटन क्षेत्रको होटल व्यवसायमा दक्ष कामदार उत्पादन गर्ने गरी सीप सिकाउने जनाइएको छ । परियोजनाद्वारा सञ्चालित तालिममा वैदेशिक रोजगारीबाट फर्किएका, अर्ध बेरोजगार र रोजगारीमा आउन चाहने नव प्रवेशीहरुलाई सीप विकास गरेर होटलमा रोजगारी दिइनेछ ।  

तालिम १५ महिना अवधिको रहनेछ । सीप विकास तालिमबाट तीन सय २० जना दक्ष कामदार उत्पादन गरिनेछ । होटलका लागि आवश्यक पर्ने कन्टिनेन्टल कुक, जनरल कुक, हाउस किपिङ, होटल सहायक, वेटर, रिसेप्सनिस्ट, क्यासियरको सीप तालिम सिकाइनेछ । 

तालिमका लागि परियोजनाले आवेदनको सूचना जारी गर्दै सार्वजनिक आह्वान गर्नेछ । आवेदन पेस गरेकाहरुबाट छनोट गरिनेछ । तालिम तीन सय ९० घण्टाको हुनेछ । छनोटमा परेका सबैलाई परियोजनाको स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ‍(‍सीटीईभीटी) मापदण्डको तालिम गराउने परियोजना प्रमुख राम रिमालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक रुपमा तालिम दिइनेछ । राष्ट्रिय सीप विकास बोर्डको लेभल १ को सीप परीक्षण परीक्षामा सहभागी गराएर उनीहरुलाई रोजगारीको निम्ति आवश्यक क्षेत्रमा पठाइने छ ।’

इलाममा रहेका होटलहरुमा मात्रै दुई हजार तीन सय हाराहारी कामदार रहेके र तीमध्ये सय जना पनि दक्ष कामदार नभएको होटल एसोसिएशन इलामका अध्यक्ष देवी पौडेलले बताउनुभयो ।  दक्षताका आधारमा सीप सिकेका सबै योग्य कामदारले तालिमपछि जिल्लामा नै रोजगारी पाउन कुनै मुस्किल नपर्ने उहाँको भनाइ छ । 

यस्तै इलाम पर्यटकीय क्षेत्रमा पर्ने भएकाले पनि होटल सञ्चालनमा समस्या नपर्ने र दक्ष जनशक्तिले रोजगारविहीन हुन नपर्ने कार्यक्रममा सहभागीहरुले बताए ।  

परियोजना अन्तर्गत एक पटक २० जनालाई तालिम गराइनेछ । विभिन्न ठाउँमा गरेर एकै समयमा चार वटासम्म समूहलाई तालिम गराउने तयारी छ । परियोजना अन्तर्गत तीन करोड २३ लाख ९७ हजार ६ सय ८५ रुपैयाँ खर्च गरिने छ । कुल लागतमा ७३.६३ प्रतिशत अर्थात् दुई करोड ३८ लाख ५४ हजार चार सय १५ रुपैयाँ कार्यक्रममा खर्च गरिनेछ । 

यस्तै १९ दशमलव ३७ प्रतिशत अर्थात् ६२ लाख ७५ हजार चार सय ३१ रुपैयाँ प्रशासनिक क्षेत्रमा खर्च गरिने छ । त्यस्तै कार्यक्रम कार्यान्वयन गर्ने संस्था उद्योग वाणिज्य सङ्घले सात प्रतिशत अर्थात् २२ लाख ६७ हजार आठ सय ३७ रुपैयाँ उद्योग वाणिज्य सङ्घले पाउनेछ । कार्यक्रमको उद्देश्यका बारेमा उपाध्यक्ष मदन श्रेष्ठले जानकारी गराउनुभएको थियो भने कार्यक्रम संयोजक राम रिमालले परियोजनाका बारेमा बताउनुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया