‘ममाथि सुनियोजित प्रहार भयो, घुस र कमिसन मागेकाे छैन, राजीनामा किन दिने ?’

 मंसिर २६, २०७७ शुक्रबार १७:२९:४७ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता एवं राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठमाथि अहिले नैतिकताको प्रश्न उठिरहेको छ । केही सञ्चारमाध्यममा बुधबार मात्रै निधन भएका नेकपाकै केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमान सिंह लामासँग आर्थिक कारोबारबारे अडियो र भिडियो सार्वजनिक भएपछि उहाँमाथि प्रश्न उठेको हो ।

अडियो/भिडियोमा निधन भएका नेकपाका केन्द्रीय सदस्य लामा र एक हाइड्रोपावर प्रोजेक्टबीच आर्थिक लेनदेनबारे विवाद भएको र दुवै जना नेकपाकै नेता भएकोले मिल्नका लागि श्रेष्ठले आग्रह गर्नुभएको प्रष्ट बुझ्न सकिन्छ ।

यसअघि नैतिकताको प्रश्न उठेपछि नेकपाभित्रको पूर्व माओवादीतर्फका कृष्णबहादुर महराले सभामुख पदबाट र पूर्व एमालेतर्फका गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । अहिले पनि नेकपाभित्रैबाट प्रवक्ता श्रेष्ठले नेकपाको प्रवक्ता र राष्ट्रिय सभाका सदस्य पदबाट राजीनामा दिनुपर्ने आवाज सुरु भएको छ । यसको खास तथ्यबारे प्रवक्ता श्रेष्ठसँग उज्यालो अनलाइनका लागि टेकमान शाक्यले कुराकानी गर्नुभएको छ ।

आर्थिक कारोबारबारे कमान सिंह लामासँग तपाईँले गर्नुभएको संवादको अडियो/भिडियो बाहिरिएको छ । यसको वास्तविकता के हो ?

म कुनै आर्थिक कारोबारमा संलग्न छैन । कमान सिंहजीसँग मेरो कुनै आर्थिक कारोबार अथवा लेनदेन केही पनि छैन । कुनै पनि हाइड्रोपावर प्रोजेक्टसँग मेरो संलग्नता छैन । यो आर्थिक कारोबार अथवा लेनदेनको विषय कमान सिंह लामा र अर्को हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित हो । दुवै जना हाम्रा पार्टीका साथीहरु भएको कारणले उहाँहरुको मध्यस्थता मात्रै गरेको हुँ । उहाँहरूबीच विवाद भएकोले कमरेड कमान सिंह लामाले नै यसबारे कुरा मिलाइ दिनुपर्यो भन्नु भएकोले मैले उहाँहरुलाई मिलेर जानुस् भनेको हुँ । न प्रोजेक्टसँग, न कमरेड कमान सिंहसँग, मेरो लेनदेन केही पनि छैन ।

तपाईँमाथि नैतिकताकै प्रश्न उठ्यो, अब के गर्नुहुन्छ ?

यसबारे त सार्वजनिक भएको अडियो र भिडियोले नै प्रष्ट पार्छ नि । त्यसमा मेरो कुनै आर्थिक लेनदेनको कुरा नै छैन, तपाईँहरू मिलेर जानुस् भनेर मैले भनेको कुरा प्रष्ट नै छ । मैले तपाईँहरू सबै जना हाम्रै मान्छे हो, मिलेर जानुस् भनेर प्रष्टसँग भनेको नै छु । त्यसकारण यहाँ नैतिकताको प्रश्न नै के हुन्छ र ? उहाँहरुको आपसी कारोबार हो । आपसी कारोबारमा केही विवाद आएपछि पार्टीको नेता र धेरै समयदेखि सहकार्य भएको नाताले लौ न मिलाइ दिनुपर्यो भनेर अनुरोध गरेपछि मैले मिल्नुस् भन्नेबाहेक त केही पनि भनेको छैन । 

उसो भए तपाईँलाई फसाउन यसो गरिएको हो त ?

प्रचार चाँहि सुनियोजित नै देखिन्छ । किनभने जुन भिडियो/अडियो सार्वजनिक भयो, त्यसले नै प्रष्ट पारेको छ । मैले थप प्रष्ट पारिरहनुपर्ने आवश्यकता नै देख्दिन ।

तपाईँको केही गल्ती छैन भने सुनियोजित काम कहाँबाट भयो त उसो भए ?

नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिमा अहिले भ्रष्टाचारको विरुद्धमा र आर्थिक स्वच्छताको पक्षमा सङ्घर्ष गरिरहेको छु । यस प्रकारको प्रहार गरेर त्यो सङ्घर्षलाई कमजोर बनाउन खोजिएको हो कि भन्ने लाग्छ । तर म त्यसबाट विचलित हुन्न ।

कमान सिंह लामाले निधन हुनुभन्दा केही समयअघि सामाजिक सञ्जालमार्फत केही कुरा भन्नुभएको रहेछ । तपाईँ लक्षित केही कुराहरु लेख्नुभएको रहेछ । तपाईँले पनि पढ्नुभयो होला । यसको जवाफ कसरी दिनुहुन्छ ?

निधन हुनुभन्दा अगाडि त्यति लामो स्टाटस उहाँ आफैले लेख्नुभयो होला र ! भन्ने पनि लाग्छ । तै पनि म फेरि भन्छु, वास्तविक कुरा कमरेड कमान सिंह लामाको हाइड्रोपावर प्रोजेक्टसँग केही विवाद भएको कुरा हो, अरु कुरामा म सम्बन्धित छैन ।

यसबारे बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि केही छलफल गर्नुभयो ? उहाँ र तपाईँबीच के–के कुरा भयो ?

कमरेड कमान सिंह लामाले यो कुरा कमरेड प्रचण्डसँग पनि राख्नुभएको थियो । लौ न हामीबीच केही विवाद छ मिलाइ दिनुपर्‍याे भनेर उहाँले प्रचण्डसँग भन्नु भएपछि प्रचण्ड स्वयंले हाइड्रोपावर प्रोजेक्टका साथीहरु र कमान सिंहजीलाई सँगै राखेर दुई/तीन पटक कुरा गर्नुभएको थियो । प्रचण्डलाई पनि यसबारे सबै थाहा भएकोले हामीबीच यो सुनियोजित प्रहार हो भन्ने निचोडमा पुग्यौँ । यसले हामीलाई खासै केही असर गर्दैन भनेर अध्यक्षज्यूले भन्नुभयो । आफ्नो कुनै गल्ती नै छैन भने म डराउनुपर्ने कुनै आवश्यकता पनि छैन ।

यसअघि नेकपाभित्रकै कृष्णबहादुर महरा, गोकुल बाँस्कोटाले अनुसन्धानमा सहयोग पुर्याउन भन्दै पदबाट राजीनामा दिनुभयो । अब तपाईँले त्यसो गर्ने कि नगर्ने ?

यो त्यस्तो विषय नै होइन । उहाँहरुले जसरी राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ भन्ने विषय नै छैन । यसमा मैले कसैसँग घुस लिएको, कमिसन लिन खोजेको अथवा मैले अरु कुनै कारोबार गरेको कुरा नै छैन भने मैले किन उहाँहरुले जसरी गर्नुपर्‍याे र ? दुई पक्षबीचमा तपाईँहरू मिल्नुस् भन्ने कुरा त गरेको हुँ । त्यो पनि उहाँहरूकै अनुरोधमा । कमरेड कमान सिंहको निधन भएको दुःखद घडीमा यसरी राजनीतिक प्रयोजनका लागि जुन प्रयोजन गरियो, मलाई असाध्यै दुःख लागेको छ । 

राष्ट्रिय सभाका सदस्य र नेकपाका प्रवक्ताबाट राजीनामा दिनुपर्छ भनेर पार्टीभित्रकै केही व्यक्तिहरुले कुरा उठाउन थालेका छन् । अब के गर्नुहुन्छ त ?

जुन सामग्री बोकेर उहाँहरुले प्रचार गरिरहनुभएको छ, त्यो सामग्रीले त केही पनि भन्दैन । बरु त्यसले पार्टीभित्रका दुई कमरेडलाई मिल्नको लागि मध्यस्थता गरेको मात्रै प्रष्ट हुन आयो । यो सुनियोजित प्रहारबाहेक केही पनि होइन । राजीनामा दिने भन्ने विषयको कुनै अर्थ छैन । यो कहाँबाट भयो म भन्दिनँ तर कुन उद्देश्यले भयो भन्नेबारे चाँहि प्रष्ट पारेँ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया