कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

 चैत १०, २०७७ मंगलबार ९:४१:२५ | रासस
unn.prixa.net

काठमाण्डाै - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण देशमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनै रूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ ।

काठमाण्डाैमा द स्कुल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड-१९ ले रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा डिप्रेसन, चिन्ता, तनावलगायत मनोवैज्ञानिक असर बढ्न थालेको बताउनुभयो ।

'अब मानसिक स्वास्थ्य समस्या समाधानका लागि मनोविमर्श सेवा नै जरुरी छ', यस संस्थाका अध्यक्षसमेत रहनुभएका मनोविद् डा ठगुन्नाले भन्नुभयो, 'सरकारी र गैरसरकारी क्षेत्रबाट पनि सशक्त अभियान नै चाल्नु जरुरी छ ।' यसपालि यस संस्थाबाट १० औँ र ११ औँ समूहमा सहभागी १४ प्रशिक्षार्थी दीक्षित भएसँगै उहाँहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

संस्थाका संस्थापक अध्यक्ष पदमराज जोशीले दीक्षित प्रशिक्षार्थीले मानसिक स्वास्थ्य जोखिममा रहेका समुदायलाई मनोविमर्श सेवा प्रदान गर्न सक्ने र आवश्यक परेमा मनोविद् वा मनोचिकित्सक कहाँ पठाउन सक्ने योग्यता प्राप्त गर्नेछन् । कम विकसित देशमा विज्ञको अभाव हुँदा यसरी तालिम प्रदान गरेर मनोपरामर्शदाता सेवा दिने गरिएको छ । त्यसैअनुसार नेपालमा पनि छ महिने तालिम दिएर मनोपरामर्शदाता उत्पादन गरिँदै आइएको छ ।

भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गराउँदै आउनुभएकी प्रशिक्षार्थी सिर्जना श्रेष्ठले सामान्य स्वास्थ्य समस्या हुँदा मानिस औषधि लिन मेडिकल जाने गरेको तथ्य प्रस्तुत गर्दै सही मनोविमर्श सेवा प्राप्त भयो भने धेरै रोग त्यसै निको भएर जानेरहेछ भन्ने कुरा आफूले सिकेको बताउनुभयो । तालिममा स्टाफ नर्स, प्राध्यापन पेशामा सहभागी शिक्षक, मनोविज्ञान र व्यवस्थापन क्षेत्रमा काम गर्दै आएका व्यक्तिको आकर्षण बढिरहेको तालिम संयोजक जोत्स्ना डाँगीले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले हालसम्म १५० भन्दा बढीलाई यस तालिम प्रदान गरेकामा उनीहरुमध्ये ८० प्रतिशत प्रशिक्षार्थी रोजगारीमा संलग्न भएका छन् । अहिले १२ औँ र १३ औँ समूहको तालिम चलिरहेको र निकट भविष्यमा १४ औँ समूहको प्रशिक्षण सुरु हुने जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया