सर्वोच्चमा मुद्दा दायर गर्न विपक्षी गठबन्धन कागजात तयार गर्दै

 जेठ १०, २०७८ सोमबार १२:१३:१५
unn.prixa.net

काठमाण्डौ - प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नका लागि विपक्षी गठबन्धनका सांसदहरुले कागजात मिलाउने काम गरिरहेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल-नेपाल समूहका सांसदहरु अहिले कागजात मिलाउन व्यस्त भएका छन् । 

अबको आधा घण्टामा कागजात तयार गरेर सर्वोच्च अदालतमा मुद्दा दायर गरिने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो । हिजो नै रिट लिएर सर्वोच्च जाने भनिए पनि तयारी नपुगेकाले आज मुद्दा दायर गर्न लागिएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रवार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्चमा मुद्दा दायर गर्न लागेका हुन् ।

रिट निवेदनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग दाबीसमेत गरिने नेताहरुको भनाइ छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १ सय ४९ भन्दा बढी सांसदको हस्ताक्षरसहित आफूहरु सर्वोच्च जान लागेको नेताहरुले बताएका छन् । 

कानुन व्यवसायीको सहयोगमा तयार पारिएको रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेस देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित गरेको दाबी वैधानिक रहेको उल्लेख गरिएको छ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश माग गरिएको पनि नेताहरुले बताएका छन् । 

संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) अनुसार ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहे पनि उहाँले विश्वासको मत नलिने भनेपछि राष्ट्रपति भण्डारीले उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

विपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमाभित्रै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओलीबाट १ सय ५३ सांसदको समर्थनको दाबी परेपछि विवादित भएको भन्दै राष्ट्रपतिले दुवै दाबी खारेज गर्नुभएको थियो । 

त्यसपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गर्नुभएको हो । यसको विरोधमा विपक्षी गठबन्धन आज सर्वोच्च जान लागेको हो । यसैबीच, संविधानको धारा ७६ (५) बमोजिम  प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । 

अधिवक्ता कृष्ण भण्डारीले ओलीले पेस गरेको सङ्ख्यालाई नमानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधान विपरीत रहेको भन्दै रिट निवेदन दर्ता गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया