होम क्वरेण्टीनमा बसेका कोरोना संक्रमितलाई सामीकाे नि:शुल्क मनोपरामर्श सेवा

 असार ७, २०७८ सोमबार १५:३७:५१
unn.prixa.net

मोरङ – मोरङको कानेपोखरी गाउँपालिकामा कोरोना संक्रमणपछि होम क्वरेण्टीनमा रहेका परिवारलाई मनोपरामर्श दिइएको छ । 

पालिकाको अनुरोधमा प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गरिएको हो । दैनिक जीवनमा आउने  व्यवहारजन्य गडबडीलाई व्यवस्थापन गर्न  प्राथमिक मनोवैज्ञानिक परामर्शले सहयोग पुग्ने कानेपोखरी गाउँपालिकामा कार्यरत मनोपरामर्शकर्ता इन्दिरा बास्कोटा बताउनुहुन्छ । कोरोनाका कारण मानिसमा डर, चिन्ता , तनाव, मनमा अशान्ति जस्ता समस्यालाई कम गर्न मनोपरामर्श दिइन्छ ।

इन्दिरा बास्कोटाका अनुसार एकै गाउँका चार परिवारका १६ जना कोरोना संक्रमितलाई परामर्श दिइएको हो । मनोसामाजिक परामर्शको छलफलमा ८ देखि ६४ वर्ष उमेर समूहका व्यतिहरुको उपस्थिति रहेको थियो । छलफलमा सहभागी भएकाहरुले मनमा अनेक कुरा खेल्ने, झर्को लाग्ने हातखुट्टा, जिउ काँप्ने, कट्कट् खाने वा झमझमाउने, जिउ सिरिंग हुने, मुख सुक्ने, थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुने, छाती भारी हुने, रिस उठ्ने र  कुनै एक ठाउँमा ध्यान केन्द्रित गर्न नसक्ने, मन दुःखी भैरहने तथा अरु बेलाको भन्दा बढी चिन्ता लाग्ने जस्ता लक्षणहरु  देखिएको बताए  ।

असहज अवस्थामा मनोपरामर्श पाउँदा धेरैजसो समस्या केही समयको अन्तरालपछि आफै कम भएर जान्छन् । यसका साथै मानसिक चिन्तामा परेकाहरुलाई सहज हुने गरी मनका कुरा पोख्न लगाउँदा पनि पीडितको समस्या समयमै निको पार्न सकिन्छ । 

‘छलफलमा सहभागी भएकाहरुको मनोसामाजिक समस्या  कम गर्न उनीहरुलाई मनका वह पोख्न दिइयाे, घरपरिवार, साथीभाइ वा समाजको साथ र सहयोग कसरी लिने भन्ने बारेमा छलफल गरियो’, मनोपरामर्शकर्ता इन्दिराले भन्नुभयो, ‘सञ्चार माध्यममा आउने आधिकारिक सूचना र समाचार सुन्न, हेर्न र पढ्न प्रोत्साहन साथै मनोरञ्जन, खेलकुद, व्यायाम, ध्यान पूजापाठ आदि गर्न लगाएर तनाव कम गराउने प्रयास गरियो ।’

प्राकृतिक विपत्ति वा महामारीको यस्तो असहज अवस्थामा देखिने यी लक्षणहरु सामान्य र स्वभाविक मानिन्छन् । तर यी लक्षणहरु लामो समयसम्म रहिरहेमा भने मनोसामाजिक समस्या तथा मानसिक रोगको जोखिम हुने मोरङकी सामी परियोजना कार्यक्रम संयोजक मनिषा थापा बताउनुहुन्छ ।

यही समस्यालाई मध्येनजर गर्दै मोरङमा विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकामा मनोपरामर्श सेवा प्रदान गरिँदै आएको छ । फिल्डमै गएर वा टेलिफोनबाटै आफूहरुले सेवा दिइरहेको सीएमसी नेपाल अन्तर्गत प्रदेश एक र दुईमा कार्यरत मनोसामाजिक सुपरीवेक्षक दुर्गाप्रसाद भट्टराई बताउनुहुन्छ । 

अहिले देशभरिका एक सय ५६ स्थानीय तहमा सुरक्षित आप्रवासन (सामी) परियोजनाले मनोपरामर्श दिने काम गरिरहेको छ । नेपाल सरकार र स्वीस सरकार बीच भएको द्वीपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा पालिकाहरुको नेतृत्वमा यो कार्यक्रम सञ्चालित छ । यस परियोजनाको लागि प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराइरहेको छ । यसको लागि मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले मनोपरामर्शकर्ताहरुलाई परिचालन गर्छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया