जिल्ला अस्पताल पाँचथरको ओपीडी सेवा डेढ महिनादेखि बन्द, बिरामी मर्कामा

 असार ९, २०७८ बुधबार १२:४७:१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – जिल्ला अस्पताल पाँचथरको ओपीडी सेवा डेढ महिनादेखि बन्द हुँदा बिरामी मारमा परेका छन् ।

यो अस्पतालमा पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ र तेह्रथुमको आठराई गाउँपालिकाका बिरामी समेत उपचारका लागि पुग्ने गरेका थिए । तर, डेढ महिनादेखि अस्पतालको ओपीडी नखुल्दा बिरामीहरु समस्यामा परेका छन् । निषेधाज्ञालाई खुकुलो बनाउँदै बजार, पसलहरु खुल्न थाले पनि अस्पतालको ओपीडी सेवा भने सुरु भएको छैन ।

बिरामीले ओपीडी सेवा खुलाउन माग गर्दै आएका छन् । तर, अस्पतालका सूचना अधिकारी नारायण जोशीले कोरोना भाइरसको संक्रमणका कारण ओपीडी सेवा बन्द गरेको बताउनु भएको छ । अन्य बिरामी भन्दा कोरानाका बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्नुपर्ने भएकाले ओपीडी सेवा बन्द गरिएको जोशीको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईको पत्रका आधारमा ओपीडी सेवा बन्द गरिएको र फेरि सुरु गर्नकाे लागि व्यवस्थापन इकाईकाे पत्र आउनुपर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया