प्राथमिक तह तृतीय श्रेणीका ४ हजार ४ सय ६२ शिक्षकका लागि विज्ञ...
बैशाख १५, २०८१ शनिबार
पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिकाले याक्थुङ (लिम्बू) भाषालाई गाउँपालिकामा सरकारी मान्यता दिने निर्णय गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्यक्रममा याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजकाे भाषाको रूपमा मान्यता दिने गाउँपालिकाले निर्णय गरेको हो ।
नीति तथा कार्यक्रमको भाषा, साहित्य, संस्कृति तथा पर्यटन अन्तर्गत ७५ औँ नम्बरमा याक्थुङ (लिम्बू) भाषालाई ‘आर्थिक वर्ष २०७८÷०७९ देखि गाउँपालिकाको सरकारी कामकाजको भाषाको रूपमा मान्यता प्रदान गरिनेछ’, भनिएको छ । त्यस्तै त्यही बुँदामा गाउँपालिकाभित्र बोलिने अन्य भाषालाई समेत आउँदा दिनमा कामकाजको भाषाको मान्यता दिइने नीति अवलम्बन गरिने उल्लेख छ ।
नेपालको संविधानको धारा ३२ को १, २ र ३ त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थाअनुसार याक्थुङ (लिम्बू) भाषी नागरिकको बाहुल्यताको आधारमा यस भाषालाई नेपालीका साथै सरकारी कामकाजको भाषाको मान्यता दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताउनुभयो । गाउँपालिकामा ७० प्रतिशतभन्दा बढी याक्थुङ (लिम्बू) भाषीको बसोबास रहेको छ ।
फाल्गुनन्द गाउँपालिकाले यसअघि गाउँपालिकाभित्रका विद्यालयमा माध्यमिक तहसम्म याक्थुङ (लिम्बू), किरात राई बान्तावा र तामाङ भाषा पठनपाठनको व्यवस्थासमेत गरेको थियो ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।