‘हिउँ जमिरहने धौलिगाडको पानी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकिन्छ’

 साउन १९, २०७८ मंगलबार १७:३२:१० | नेत्र शाही
unn.prixa.net

धौलिगाड खानेपानीको मुहान

जुम्ला – हिमाली क्षेत्रको सबैभन्दा ठूलो आयोजना धौलिगाडबाट निस्कने खानेपानी व्यापारिक हिसाबले पनि निकै उत्कृष्ट हुने विज्ञहरूले बताएका छन् । हिउँ जमिरहने धौलिगाडको पानीलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा तयार गर्न विज्ञहरूले सुझाव दिएका हुन् ।

आयोजनाकाे टेन्डर भएर अगाडि बढेपछि जुम्लामा स्थानीय सरोकारवालासँगको छलफलका लागि जुम्ला पुगेको खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सूर्यराज कँडेल, जलवायु अनुकूलन खानेपानी आयोजना प्रमुख अरुण सिम्खडा, आयोजना परामर्शदाता केशवलाल शाक्यसहितको टोलीले यस्तो सुझाव दिएको हो । 

समुद्र सतहबाट झन्डै चार हजार मिटर उचाइ अर्थात् ६ महिना हिउँ जम्ने धौलिगाडबाट जुम्लाको सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका र तातोपानी गाउँपालिकाका आठ हजार ६ सय घरधुरीमा खानेपानी पुर्याइने लक्ष्य लिइएको छ । यस आयोजनाको दिगोपनाका विषयमा सुझाव दिँदै उपमहानिर्देशक कँडेलले एकातिर नागरिकले अपनत्व लिने र अर्कोतिर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने उपमहानिर्देशक कँडेलले जानकारी दिनुभयो । 

उहाँले धौलिगाड आयोजना जुम्लावासीको लागि मात्रै नभइ नेपालकै गौरवको विषय भएकाले यसलाई तीन वर्षमै निर्माण गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

‘हिउँ जम्ने ठाउँमा विशिष्ट प्रविधि प्रयोग गर्छाैँ’ 

छ महिना हिउँ जमिरहने ठाउँबाट कसरी पानी झार्ने र निरन्तरता दिने भन्ने विषयमा भने खानेपानी विज्ञहरूले विशिष्ट प्रविधिको प्रयोग गर्ने बताएको छ । हिउँ भइरहेपछि पानी ल्याउन कठिन हुने भएकाले यो आयोजनालाई जसरी पनि निरन्तरता दिने विषयमा छलफलपछि डीपीआर बनिरहेको उपमहानिर्देशक कँडेलले बताउनुभयो ।   

धौलिगाड खानेपानी आयोजनामा ६ महिना हिउँ जम्ने भएकाले यसलाई सफल पार्नेमा विभाग र आयोजनाको टोली लागेको उहाँको भनाइ छ । विभागका अनुसार हिमाली क्षेत्र रसुवा र कास्कीमा पनी यस्ता आयोजना सुरु गरिएको छ तर धौलिगाड हिमाली क्षेत्रको सबैभन्दा ठूलो आयोजना हो ।  

अन्तरक्रियामा नागरिक समाजका अध्यक्ष राजबहादुर महतले आयोजना टेन्डरमा गएपछि जुम्ली नागरिकको शरीरमा घाम लागे जस्तै सुरु भएको र आयोजना चाँडै बनाउन विभागलाई अनुरोध गर्नुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले धौलिगाड जुम्ली नागरिकको सपनाको परियोजना भएकाले सम्पन्न गर्न सबैको सहयोग भएको भन्दै चाँडै बोर्ड गठन प्रक्रिया अगाडि बढाउन अनुरोध गर्नुभयो ।

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले निकै कष्टका साथ आयोजना अगाडि बढेकाले सफल बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले १२ वर्ष पहिले तत्कालीन संविधान सभा सदस्य नरेश भण्डारीले कल्पना गरेको परियोजना सफल पार्न जुटिरहेको र पालिकाले एक प्रतिशत बजेटसमेत जम्मा गरिसकेको जानकारी दिनुभयो ।  

विभागले परियोजनाका लागि अर्थ मन्त्रालयबाट एक अर्ब २६ करोड रुपैयाँ स्वीकृत भइसकेकाले बजेटको अभाव नहुने बताएको छ । विभागका जलवायु अनुकूलन आयोजना प्रमुख अरुण सिम्खडाले अहिलेका खानेपानी आयोजनाका परम्परागत मूल सुक्ने भएकाले धौलिगाडसहितका आयोजनामा भने मूल नसुक्ने तरिकाले काम भइरहेको बताउनुभयो ।   

धौलिगाड खानेपानी आयोजनाका प्रमुख महेश न्यौपानेले पहिलो चरणको ७० किलोमिटर पाइप, १३ वटा ट्याङ्की बनाउने टेन्डर भएको र दोस्रो टेन्डर पनि अगाडि बढाउन तयारी भइरहेको जानकारी दिनुभयो । 

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया