जसपा विभाजन होइन, शुद्धीकरण भएको हो : उपेन्द्र यादव

 भदौ ११, २०७८ शुक्रबार १९:२४:६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभइ शुद्धीकरण भएको बताउनुभएको छ । पार्टीले आज शुक्रवार जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै अध्यक्ष यादवले केही व्यक्तिले पार्टी छाड्दैमा विभाजन भएको भन्न नमिल्ने दाबी गर्नुभयो । 

उहाँले आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई समाप्त गर्दै देशमा प्रतिगमन लाद्न चाहने केपी ओलीको मतियार बनेकाहरूबाट नागरिकले हिसाब लिने बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयाे, संविधानमा रहेका सकारात्मक पक्षहरूको रक्षा गर्दै संविधान संशोधनमार्फत नकारात्मक पक्षलाई विस्थापन गर्नु नै जसपाको मूल कार्यभार हाे । यसका लागि मधेशी, आदिवासी , जनजाति, दलित महिला, मुस्लिमलगायतका शोषित वर्ग जसपाको झण्डामुनि गोलबद्ध हुन्छन् ।  

कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राईले देशका पुराना पार्टीहरू समतामूलक समाज निर्माणको कार्यदिशाबाट भागेका कारण जसपाको जन्म भएको उल्लेख गर्नुभयो । देशमा सामाजिक, आर्थिक मात्र नभइ कानुनी विभेदसमेत कायम रहेकाले जसपा ती सबै विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर भएको उहाँको तर्क थियो । 

मधेश प्रदेश समितिका अध्यक्ष विजयकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी समिति सदस्य महेन्द्रराय यादव, रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, रामनरेश राय, नवलकिशोर साह, गजाधर यादव, मनिष सुमन, जनकपुर उपमहानगरका मेयर लालकिशोर साहलगायतले मन्तव्य राख्नुभएको थियो ।

पार्टी सुदृढीकरण, सङ्गठन विस्तार एवम् जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया