जुम्लीलाई स्याउ टिपेर बजार पुर्‍याउने चटाराे

 भदौ २७, २०७८ आइतबार १८:२९:१८ | नेत्र शाही
unn.prixa.net

जुम्लाको अर्गानिक स्याउ । तस्बिर : नेत्र शाही जुम्ला ।

जुम्ला – जुम्ला चन्दननाथ नगरपालिका ८ का धर्मसिंह कठायत अहिले आफ्नो बारीको स्याउ लिएर बिक्री गर्न कर्णाली प्रदेश सरकारको राजधानी सुर्खेत पुग्नुभएको छ । उहाँले सहकर्मी धर्म बोहोरासँगै आफू ५० क्विन्टल स्याउ लिएर बिक्री गर्न सुर्खेत गएको जानकारी दिनुभयो ।  

जुम्ला तातोपानी गाउँपालिका २ डाँगीवाडाका स्याउ किसान मुनबहादुर डाँगीले पनि यस वर्ष ३० क्विन्टल स्याउ बिक्री गरिसकेको जानकारी दिनुभयो । उहाँले गएको वर्षभन्दा यस वर्ष कालो तुषारोका कारण स्याउ कम फलेको बताउनुभयो ।     

कठायत र डाँगीजस्तै धेरै स्याउ किसान अहिले स्याउ लिएर बजार गइरहेका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार भदौको दोस्रो हप्तादेखि टिप्न लागिएको स्याउ नेपाली बजारमा पुगेको छ । पश्चिम नेपालको सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवलका साथै काठमाण्डौ, पोखरा र पूर्वी नेपालको विराटनगरसम्म पनि जुम्लाको स्याउ पुगेको व्यापारीहरूले जनाएका छन् । 

किसानहरू स्याउ टिप्न अन्तिम–अन्तिम अवस्थामा रहेका र अहिले उनीहरू निर्यात र भण्डारणमा व्यस्त रहेका जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । 

कृषि प्राविधिक अधिकृत खेमराज शाहीका अनुसार अहिले बजारमा परिपक्व जुम्लाको स्याउ गइरहेको छ । धेरैजसो स्याउ अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेत, बाँकेको नेपालगञ्ज गइरहेको व्यापारीहरू बताउँछन् ।

 

सुर्खेतमा रहेको एक स्याउ बजारका प्रबन्धक प्रकाश कुमार तिमिल्सेनाले ५० गाडी अर्थात् झन्डै १० टन स्याउ जुम्लाको आएको बताउनुभयो । एकै पटक जुम्लाको स्याउ आउँदा बिक्री गर्न हम्मे–हम्मे भएको उहाँले बताउनुभयो । १३ वर्षदेखि स्याउ व्यापार गर्दै आउनुभएका तिमिल्सेनाले त्यहाँको बजार तीन महिना जुम्लाको स्याउले ढाक्ने र बाँकी महिना बाहिरको स्याउले धान्ने गरेको सुनाउनुभयो । 

कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ६ हजार एक सय मेट्रिक टन स्याउ उत्पादन भएकोमा अहिले बढ्ने अनुमान गरिएको छ । लेकाली भेगबाहेक अन्य ठाउँको स्याउ टिपी सकिएको र कोरोनाको प्रभावकै बीच पनि स्याउ निर्यात भइरहेको छ । 

स्याउ निर्यातका लागि किसानले पालिकाबाट सिफारिस लिने गरेका छन् । स्थानीय कृषि शाखा र वडा पालिकाको समन्वयमा हुने सिफारिसले किसानलाई सजिलो हुँदै गएको छ । 

अहिले बजारमा परिपक्व स्याउ जान थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका निमित्त प्रमुख गङ्गा पोख्रेलका अनुसार जुम्लाका केही किसानले स्याउ काठमाण्डौ पुर्याएका छन् । स्याउ जति राख्यो त्यति परिपक्व हुने र रस भरिने भएकाले पछिल्लो स्याउ परिपक्व भएको पोख्रेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया