अपाङ्गता भएका दिदीबहिनी भेट्न ५० हजार रकमसहित खुत्रुके बोकेर पोखराबाट जुम्ला

 असोज ६, २०७८ बुधबार १२:४४:४७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – अपांगता भएका दुई दिदीबहिनीलाई भेट्न खुत्रुके बोकेर पोखराबाट जुम्लाको यात्रा गर्नुभएको छ पोखराकी जुना गुरुङले । 

गोठिचौर गाउँपालिका १ जुम्लाका २४ वर्षीया विष्णुमाया र २२ वर्षीया निर्मला बुढालाई आर्थिक सहयोग गर्न उहाँ जुम्ला आउनुभएको थियो । तर बुढा दिदीबहिनीलाई जुम्लामा नभेटेपछि उहाँ सुर्खेत पुग्नुभयो । सुर्खेतमा मानव सेवा आश्रममा रहनुभएका विष्णुमाया र निर्मलालाई खुत्रुर्केमा भएको पचास हजार रुपैयाँ सहयोग गरेर उहाँ हिजो पोखरा फर्किनु भएको छ ।

पोखरा महानगरपालिका १० कास्कीका ओमकुमारी गुरुङ र उहाँहरुको आफन्तहरुद्वारा शुरु गरिएको सहायता कोष र केही व्यक्तिगत सहयोग लिएर ५८ वर्षीय जुना गुरुङ जुम्ला पुग्नु भएको हाे । तर विष्णुमाया र निर्मला मानव सेवा आश्रम सुर्खेतमा गइसकेकाले त्यहीँ पुगेर नगद पचास हजार रुपैयाँ सहित लत्ता कपडा हस्तान्तरण गरेर फर्किएको उहाँले जानकारी दिनुभयो ।

‘मष्तिष्क पक्षघात रोगको उपचारका लागि करिब १० वर्ष अघि पोखरा हरियो खर्कमा तीन वर्ष थेरापी गरेर फर्केका उनीहरुलाई हामीले सक्दो सहयोग प्रदान गरेका हौँ’, उहाँले फोनमा सुनाउनुभयो ।

उहाँका अनुसार ओमकुमारीको व्यक्तिगत १० हजार, आफ्नो पाँच हजार र आफन्तहरुबाट ३० हजार रुपैयाँ सहयोग भएको छ । बेलायतमा बस्ने जुनाका छोरी निकिता गुरुङ्का साथीहरुले पठाएको खाजा, सेनेटरी प्याड, साबुन, कपडासहित पाँच हजार रुपैयाँ पनि सहयोगमा मिसिएको छ ।

पक्षघातका कारण शारीरिक अपाङ्गता भएका उनीहरु करिब एक वर्षदेखि मानव सेवा आश्रम सुर्खेतमा आश्रय लिँदै आएकी छन्  । आमाको मृत्युपछि बुवाले अर्कै श्रीमती लिएर उनीहरुलाई छोडे । त्यसपछि दुवै बेसाहारा बनेका थिए । दुवैलाई आईएनएफ जुम्लामा कार्यरत कर्मचारी सम्झना शाहीले करिब आठ वर्ष स्याहारसुसार गर्नुभएको थियो । शाही कामको सिलसिलामा बाहिर जानुपर्ने अवस्था आएपछि उनीहरुको व्यवस्थापनका लागि एकवर्ष अघि अपांग पुनर्स्थापना तथा विकास केन्द्र जुम्ला, गुठिचौर गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा मानव सेवा आश्रम कर्णाली प्रदेश कार्यालयमा सिफारिस गरिएको छ ।

पाेखराबाट खुतुर्केसहित सहयाेग गर्न जुम्ला पुग्नुभएकी जुनाले मानवीय धर्मका लागि यो काममा सहयोग पुरयाउने सबैलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया