‘कोरोना हाम्रै माझमा छ, ख्याल गरौँ’

 कात्तिक ६, २०७८ शनिबार ८:४६:५९ | डा. शान्त कुमार दास
unn.prixa.net

कोरोनाका बिरामीको सङ्ख्या घटेको त हो । तर, त्रिवि शिक्षण अस्पतालमा अहिले पनि दैनिक ८/१० जना कोरोनाका बिरामी भर्ना भएको अवस्था छ । अहिले अस्पताल आउने बिरामीमा निमोनिया तथा अक्सिजन लेभल घटेर अक्सिजन चाहिने तथा आईसीयू चाहिनेको सङ्ख्या धेरै देखिन्छ । 

दशैँ सकिएको हप्ता दिन बितेको छ । यसको विन्डो पिरियड अर्थात लक्षण देखिने पिरियड भनेको ५ देखि ७ दिन हो । त्यसकारण गएको ३/४ दिनदेखि जुन केसहरु बढेको पाइएको छ, त्यसमा चाहिँ हामीले सुरक्षाको मापदण्ड नअपनाएको हुन सक्छ । ठ्याक्कै यही हो भनेर भन्न त सकिँदैन तर, यो एउटा कारण हुन सक्छ ।

३/४ दिनदेखि केसहरु बढेको छ । तर, आउने दिनमा केस कति बढ्छ वा अवस्था कस्तो आउँछ भन्ने कुरा चाहिँ कोभिडको केसमा भन्न र मिल्न गाह्रो हुन्छ । तर केही दिनदेखिको तथ्याङ्कको आधारमा चाहिँ केसहरु अब बढेर जान्छ भन्न सकिन्छ ।

समग्रमा कोभिडको केस घटे पनि अहिले पनि सिरियस बिरामीको सङ्ख्या धेरै देखिन्छ । दशैँ अगाडि त्रिवि शिक्षण अस्पतालमा दिनको २/३ जना भर्ना हुने गरेकोमा अहिले दैनिक भर्ना हुने बिरामीको सङ्ख्या बढेर १०/११ पुगेको छ। पहिलो कुरा त अहिले कोभिडको अवस्था जटिल नभइकन मानिसहरु भर्ना हुन आउँदैनन् । हामीसम्म आइपुग्ने केसहरु भनेको लगभग जटिल नै हुन्छ।

हामीले के बुझ्नुपर्छ भने कोरोना हामी बीचमा नै छ । हाम्रै माझमा छ । गएको छैन । भाइरसले मौका पाएका बेला धेरै मान्छेलाई सङ्क्रमित बनाउँछ । केवल यसको सङ्ख्या मात्र तलमाथि भएको हो । अर्को कुरा के बुझ्नु पर्छ भने यो तुरुन्तै तथा निकट भविष्यमा पनि जानेवाला छैन, हामी बीचमा नै रहन्छ । हामीले भ्याक्सिन लगाए पनि अहिले भ्याक्सिन लगाएकाहरु नै गम्भीर बिरामी भएर आइरहेका छन् । भ्याक्सिन लगाएको छु त्यसकारण म सुरक्षित छु भनेर स्वास्थ्य मापदण्ड पालना नगर्ने गर्नु हुँदैन ।

अहिले दशैँ सकिए पनि अब पनि तिहार, छठ लगायतका पर्व आइरहेका छन् । यदि अहिले आइरहेका यी चाडपर्वमा पनि हामीले दशैँमा जस्तो हेलचेक्र्याइँ गरेका खण्डमा अवस्था हामीले कल्पना गरेको भन्दा बाहिर जान पनि सक्छ। त्यो हुने नहुने भनेको हाम्रै हातमा छ । यदि हामीले स्वास्थ्य मापदण्ड राम्रोसँग पालना गर्यौँ भने त्यस्तो अवस्था आउन पाउँदैन ।

डा. दाससँगको थप कुराकानी  काेराेना क्याप्सुलमा सुन्नुहाेस् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. शान्त कुमार दास

डा. शान्त कुमार दास शिक्षण अस्पताल महाराजगञ्जको कोभिड युनिटका प्रमुख हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया