लमजुङको पाउदीमा एकादशी मेला (फोटो फिचर)

 कात्तिक २९, २०७८ सोमबार १९:२८:३२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको प्रवेशद्वार पाउदीमा रहेकाे मर्स्याङ्दी नदी किनारमा ठूलो एकादशी (हरिबाेधनी) का दिन ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि लमजुङ, तनहुँ, गोरखासहित विभिन्न ठाउँबाट बर्सेनि हजारौँ सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।

कोरोना प्रभावका कारण विगतका दुई वर्ष खासै मेला लाग्न नसके पनि यस वर्ष भने पाउदी क्षेत्रमा भक्तजनको निकै घुइँचो लागेको कमृदा नदीको शिवजी मन्दिर संरक्षण समितिका सचिव गौतम पोखरेलले बताउनुभयो । झन्डै १२ हजार भक्तजन यस वर्ष पाउदीमा मेला भर्न आएका उहाँले बताउनुभयो ।

‘विगतका दुई वर्ष कोरोनाका कारण मेला लाग्न सकेन । तर यस वर्ष भने भक्तजनको निकै घुइँचो लागेको छ’, उहाँले भन्नुभयो ।

फूलको डोली तार्ने परम्परामा कमी

जानकारहरूका अनुसार यस मेलामा बर्सेनि भक्तजनको सङ्ख्या त बढ्दो देखिन्छ । तर विगतमा जस्तो मौलिक बाजागाजासहित फूलको डोली तार्ने सङ्ख्या भने पछिल्लो समय निकै न्यून हुँदै गएको छ । यस वर्ष यहाँ एउटामात्रै फूलको डोरी तारिएको छ ।

मन्दिर संरक्षण समितिले नै यस वर्ष फूलको डोरी तारेको पोखरेलले बताउनुभयो । विगतमा टाढा टाढाबाट बाजागाजासहित फूलको डोली ल्याइ तार्ने गरिएकोमा यस वर्ष तार्ने गरी फूलको डोली नआएको उहाँले बताउनुभयो । ‘यस वर्ष फूलको डोली लिएर पूजा गर्न केही भक्तजन त आउनुभयो । तार्ने गरी फूलको डोली भने यस वर्ष आएन’ उहाँले भन्नुभयो ।

पूजाआजाका लागि भन्दा रमाइलोका लागि आउनेको सङ्ख्या धेरै

विगतमा एकादशी मेलामा मौलिक भजन–किर्तनका साथै विभिन्न मौलिक सांस्कृतिक प्रस्तुति पस्केर रमाउने चलन रहेकोमा पछिल्लो समय त्यो प्रचलन पनि भेटिनै मुस्किल छ ।

पूजाआजाका लागि भन्दा पनि रमाइलोका लागि एकादशी मेला भर्न आउनेको सङ्ख्या धेरै रहेको र एकादशीको मौलिकपन हराउँदै गएको पाउदीका ४८ वर्षीय शिवकुमार पोखरेलले बताउनुभयो ।

‘विगतमा एकादशी मेलाको रौनक नै बेग्लै थियो, मौलिकपन थियो, निकै रमाइलो हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘पछिल्ला समय मेलामा पूजाआजाका लागि भन्दा पनि रमाउनका लागि आउनेको सङ्ख्या धेरै देखिएको आभास हुन्छ ।’

संस्कृति संरक्षणमा जुट्नु आवश्यक

संरक्षण गर्न नसेक मौलिक संस्कार संस्कृति हराउँदै जान सक्ने भएकाले यसप्रति सबैको ध्यान तानिनुपर्ने उहाँ बताउनुहुन्छ ।

धार्मिक, सांस्कृतिक रूपमा मात्र नभइ बर्सेनि एकादशीका बेला लाग्ने मेलाले ग्रामीण क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुग्दै आएको छ ।  

पाउदीमा लाग्ने एकादशी मेलामा स्थानीय कृषिजन्य उत्पादन सुन्तला, बदाम, भटमास, उखुका साथै कुटो–कोदालो, डोका–नाम्ला लगायतका विभिन्न घरेलु हस्तकलाका सामग्री बिक्रीका लागि विभिन्न जिल्लाबाट मानिसहरू यहाँ आइपुग्छन् । तर विगतमा जस्तो यस वर्ष भने खासै व्यापार नभएको घरेलु हस्तकला बिक्रेता राम गुरुङले बताउनुभयो ।

गोरखा च्याङ्लिङका गुरुङले बर्सेनि एकादशीका बेला यहाँ घरेलु हस्तकलाका सामग्री ल्याएर बिक्री गर्नुहुन्छ । ‘मान्छेको चहलपहल त छ । तर विगतमा जस्तो खासै व्यापार छैन’, उहाँले भन्नुभयो ।

लमजुङको पाउँदीसँगै खुदी र लमजुङ र तनहुँको सिमाना सिसाघाट क्षेत्रमा पनि बर्सेनि एकादशीका बेला ठूलो मेला लाग्ने गर्दछ । मेला भर्नका लागि हजारौँ सङ्ख्यामा भक्तजन त्यहाँ पुग्छन् । तर पनि पछिल्ला समय भने एकादशीको मौलिकपन हराउँदै गएकोमा भने संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् ।

हाम्रा मौलिक कला, परम्परा, संस्कृति संरक्षणका लागि युवा पुस्ता जुट्नुपर्ने स्थानीयवासी कृष्णप्रसाद सिलवालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया