आउँदाे महाधिवेशनमा सभापतिकाे उम्मेदवार मै हुँ : महामन्त्री डा. कोइराला

 मंसिर १, २०७८ बुधबार १९:३०:५६ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा — नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीकाे आउँदाे आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी बताउनुभएको छ ।

आज (बुधवार) सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री काेइरालाले आउँदाे १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले सभापति पदका लागि आफू नै बलियो उम्मेदवार बनेको समेत दाबी गर्नुभयो । 

सबैलाई मिलाएर नागरिककाे आशा र भरोसाको कांग्रेस निर्माण गर्न आफू अग्रसर भइसकेकाले कुनै हालतमा 'ब्याक' नहुने महामन्त्री काेइरालाकाे भनाइ छ । सभापतिका प्रत्यासीहरू धेरै देखिए पनि उहाँले सबैसँग आन्तरिक छलफल र गृहकार्य भइरहेकाले आफूलाई सबैको सहयोग रहनेमा ढुक्क रहेको उहाँको भनाइ छ ।

सञ्चारकर्मीको जिज्ञासामा महामन्त्री कोइरालाले चुनाव अघिसम्म मात्रै गठबन्धन कायम रहने समेत बताउनुभयो । आउँदा चुनावमा कुनै पार्टीसँग तालमेल नहुने महामन्त्री कोइरालाको भनाइ थियो । उहाँले भन्नुभयो, ‘पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र आउँदाे चुनावमा पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छ ।’

एक्लै चुनाव लड्दा पनि आउँदाे चुनावमा कांग्रेसले बहुमत ल्याउने महामन्त्री कोइरालाको दाबी थियो । अहिलेको गठबन्धनसँग सरकार सहकार्यका लागि मात्र भएको र आउँदाे चुनावमा कुनै पार्टीसँग तालमेल हुने सम्भावना पनि नभएको उहाँको भनाइ थियो ।

महामन्त्री कोइराला नेपाली कांग्रेस सङ्खुवासभाका कार्यकर्तासँग भेटघाट गर्न सङ्खुवासभा आउनुभएको हो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया