मङ्सिर लागि सक्दा पनि गोरखाको बगैँचाका सुन्तला हरियै

 मंसिर ७, २०७८ मंगलबार १९:५८:२६ | किरण लोहनी
unn.prixa.net

गोरखा – सामान्यतया बगैँचामा पाकेका सुन्तला टिपेर बजार पठाउने बेला हो अहिले । तर गोरखाका सुन्तला बगैँचाका सुन्तला अझै हरियै छ, सुन्तला पाक्नै अझै दुई हप्ता जति लाग्ने कृषि विज्ञको अनुमान छ । 

‘सुन्तला हरियै छ, राम्रो रङ्ग आइसकेको छैन, गुलियो पनि पसिसकेको छैन’, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाका कृषि अधिकृत रविन्द्र पौडेलले भन्नुभयो, ‘कात्तिक पहिलो हप्तासम्ममा अमिलोपन हराउँदै गुलियोपन भरिनुपर्ने र रङ्ग पनि पहेँलो हुनुपर्नेमा यसपालि ढिला भयो ।’ उहाँका अनुसार कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षाका कारण सुन्तला पाक्न ढिला भएको हो । कात्तिकमा एक हप्तासम्म भएको बेमौसमी वर्षाले चिसो बढेका कारण सुन्तला अझै हरियै रहेको पौडेलको भनाइ छ । 

‘सात/आठ दिन लामो वर्षा भयो, चिसो बढ्यो, अझै पनि पारिलो घाम लाग्न थालिसकेको छैन’, उहाँले भन्नुभयो, ‘मङ्सिर तेस्रो हप्तासम्ममा गुलियो पस्ने र रङ्ग आउने अनुमान गरिएको छ ।’ सामान्य अवस्थामा कात्तिक दोस्रो हप्तासम्ममा नेपाली सुन्तला बजारमा आउन थाल्थ्यो । अहिले भने निकै कम मात्रामा मात्रै नेपाली सुन्तला बजारमा आएको छ । अहिले बजारमा पाइएको धेरैजसो सुन्तला भारतबाट आएको पौडेलले जानकारी दिनुभयो ।

सुन्तलामा फूल खेल्ने समय सामान्यतया माघको अन्तिम हप्तादेखि फागुनको पहिलो हप्तासम्म हो । फागुन दोस्रो/तेस्रो हप्तामा फल लाग्ने र क्रमशः बढ्दै जाने क्रम चल्ने कृषि अधिकृत पौडेलले बताउनुभयो । तापक्रम बढी भएको ठाउँमा छिटो र बढी उचाइ भएको ठाउँमा केही ढिला हुनु स्वाभाविक भए पनि यो वर्ष भने मौसमका कारण ढिलाइ भएको उहाँले जानकारी दिनुभयो । 

गोरखामा पाँच सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । गण्डकी गाउँपालिकाको ताङ्ली चोक, शहीद लखनको मनकामना, घैरुङ, ताक्लुङ, गोरखा नगरपालिका वडा नम्बर १४ को भट्टबेसी, नारेश्वर र फिनाम क्षेत्रमा सुन्तलाको व्यावसायिक उत्पादन हुँदै आएको छ ।

गएको वर्ष पाँच हजार नौ शय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा झन्डै  १६ करोड रुपैयाँको सुन्तला बिक्री भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । २०७४ साल साउनदेखि सुन्तला जोन कार्यक्रम सुरु भएपछि सुन्तला बगैँचा विस्तारमा जोड दिइए पनि पुराना बगैँचा भने मासिँदै जान थालेको छ । सुन्तला बगैँचामा धेरैजसो ग्रिनिङ रोगको समस्या रहेको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया