अरुण तेस्रोकाे हाइटेन्सन लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन

 पुस २०, २०७८ मंगलबार १३:३८:२९ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना अन्तर्गत ४०० केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको छ ।

आज खाँदबारी नगरपालिका–३ चिसोपानी गुम्बामा स्थानीय जग्गादाताहरुको ६ सय जनाभन्दा बढीको भेलाले ‘अरुण तेस्रो ४००केभी प्रशारण लाइन मुआब्जा सरोकार समिति’ गठन गरिएको हो । भेलाले ३९ सदस्यीय समिति गठन गरेको छ । 

समितिको अध्यक्षमा किशोरकुमार गुरुङलाई सर्वसम्मत चयन गरिएकाे छ ।

उहाँले अरुण तेस्रोको पावरहाउस पुखुवादेखि दिदिङ, छयाङकुटीडाँडा हुर्दै चिसोपानी गुम्बा हुँदैै सशस्त्र क्याम्पबाट चेवाबेसी हुँदै भोजपुर–खोटाङ लैजाने हाइटेन्सन लाइनको मुआब्जा बारेमा स्पष्ट नभएकाले सरोकार समिति गठन गरिएको स्पष्ट पार्नुभयो । 

हाइटेन्सन लाइनमा चिचिला गाउँपालिका भित्रका वडा नम्बर १, २ र ३ पर्छ भने खाँदबारी नगरपालिका भित्रका वडा नम्बर ४, ३, २ र १ पर्छ । सात वटा वडाभित्रका करिब ५९४ घरधुरीको जग्गा पर्छ । त्यसैले ती जग्जाधनीहरुलाई मुआब्जा बापत उचित क्षतिपूर्ति दिनुपर्ने भेलाको माग छ । 

अरुण तेस्रोले अहिले हाइटेन्सनको टावर बस्ने जग्गा मात्रै पास गरेर लिइ त्यसको मात्रै मुआब्जा दिने भन्ने बुझिएकाले त्यसमा स्थानीयको आपत्ति रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो-‘टावर बस्ने क्षेत्रको करिब ४६ मिटर जग्गा टावरले कभर गर्छ । त्यसको चाँहि २५ प्रतिशत मात्रै मुआब्जा दिइ पास नगर्ने भन्ने तयारी बुझिएकाले जग्गाधनीहरुलाई त्यो मान्य नभएको भेलाले निर्णय गरेको छ । हाइटेन्सनमुनिको जग्गाको पनि मुआब्जा दिनुपर्छ । हाइटेन्सन मुनि घरटहरा बनाउन नमिल्ने र खेतीपाती गर्न समेत समस्या हुन्छ ।’

अरुण तेस्रोको काम तीव्र गतिमा भइरहेको छ । भारतीय सतलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ । देशको नै बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाबाट नौ सय मेगावाट विद्युत् उत्पादन हुने जनाएको छ । सन् २०२३ मा सम्पन्न गर्ने सतलज कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया