जुम्लाकाे भेरी खोलामा विपद्का आला घाउ

 पुस २४, २०७८ शनिबार १६:१:२ | नेत्र शाही
unn.prixa.net

जुम्ला - गएकाे कार्तिक पहिलो हप्ता आएकाे बाढी र पहिरोले सबैभन्दा बढी क्षति पुर्याएको भेरीखोलाका शेषहरुले अहिले पनि स्थानीयलाई झस्काउँछ। 

विपद्ले पुर्याएको क्षतिका शेषहरु देखेर अहिले पनि स्थानीयकाे मन अत्तालिन्छ। बाढीले भेरीखोला तातोपानी र तिला क्षेत्रका मार्सीधानका फाँट, पाखो जमिन बगाएपछि खोला किनारको क्षेत्र बिरानो देखिएकाे छ ।

विद्युत्, विद्यालय, सिँचाइ कुलाेमा पुगेकाे क्षतिदेखि जङ्गल नै उक्काएर ल्याएका रुखहरु अहिले पनि नदी छेउछाउमा प्रशस्त्रै देखिन्छन् ।

बगर बनेका खेत तथा गह्रामा स्थानीयले रुखहरु काटेर दाउरा चिर्दै गरेका दृश्यहरु भेरीखोलामा देखिन्छ । स्थानीय सरकारले त्यहाँको सम्पूर्ण क्षति अनुगमन गरी पालिका तथा जिल्ला विपद् व्यवस्थापन समितिलाई पेस गरेको छ । तर अहिलेसम्म बाढी पहिराे पीडितकाे पीडामा मलम लगाउने काम भएको छैन ।

तातोपानी गाउँपालिका वडा नम्बर ७ का मुनबहादुर कुँवर क्षति हेर्दा अहिले पनि डर लाग्ने बताउनु हुन्छ। तिला क्षेत्रमा धानका खेत निशाना नहुने गरी बगाएको छ भने माथिल्लो क्षेत्रमा कृषि योग्य जमिनसहित पशुचौपायामा क्षति पुगेकाे छ । तर अहिलेसम्म उचित सम्बाेधन नहुँदा बाढी पहिराे पीडित निरास हुन थालेका छन् । 

एक्कासी आएको बाढीले तातोपानी वडा नम्बर ७ र ८ मा सिमी तथा मकैमा समेत क्षति पुर्याएको थियो । यसैगरी भेरी खोलाको तिला गाउँपालिकामा भारी मात्रामा क्षति पुर्याएको थियाे । 

विपद् व्यवस्थापन समितिमा पेस भएको क्षतिकाे प्रतिवेदनमा अविरल वर्षाले भेरीखोला तिलाको १३ हेक्टर जमिनसहित १४१ मेट्रिकटन मार्सीधान, तातोपानी-८ मा २२९ मेट्रिक टन मार्सीधानमा क्षति पुर्याएकाे उल्लेख छ। यसैगरी ११७ वटा भेडाको बथान बाढीले बगाएकाे विवरण तथ्याङ्कमा समेटिएकाे छ ।

विपद्ले त्यस क्षेत्रमा लगाएको बाली, बत्ती, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, सडक लगायतका पक्षमा क्षति पुर्याएको थियो । पछिल्लो समय सडक भने अस्थायी रुपमा सञ्चालनमा आएकाे स्थानीयले बताएका छन् ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले तातोपानी क्षेत्रमा विपद्ले ठूलो मात्रामा क्षति पुर्याएको र पुनर्स्थापनाका लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो । उहाँले गाउँपालिका र वडापालिकाले विस्तृतमा क्षतिको प्रतिवेदन जिल्ला र सम्बन्धित निकायमा बुझाइ आवश्यक सहयोगको पहल गरिरहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बाढी प्रभावित क्षेत्रमा खानेपानीसहित आधारभूत कुराकाे सुविधा पुर्याइएकाे र अन्य पक्षलाई  प्राथमिकतामा राखिएको बताउनुभयो। 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया