गोरखा प्रहरीले बनायो आन्तरिक कल्याणकारी कोष : प्रोत्साहन रकम 'जुनियर' प्रहरीको हितमा खर्च

 माघ ९, २०७८ आइतबार २०:४२:२४ | किरण लोहनी
unn.prixa.net

गाेरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न निकायबाट प्राप्त हुने प्रोत्साहन रकम जुनियर तहका प्रहरी कर्मचारीको हितमा खर्च गर्न थालेको छ ।

फरार अभियुक्त पक्राउ गरेबापत जिल्ला अदालतबाट र ढुङ्गा, गिटी, बालुवाको अवैध ओसारपसार रोकेबापत पालिकाबाट प्राप्त हुने रकम कल्याणकारी कोषमा जम्मा गर्न थालिएको हो । कोषको रकम जुनियर प्रहरी कर्मचारीको हित हुने खालका काममा खर्च गर्न थालिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले बताउनुभयो ।

‘कोषमा जम्मा भएको रकम कुन काममा खर्च गर्ने भन्ने निर्णयका लागि डीएसपीकाे नेतृत्वमा समिति पनि बनाइएको छ’, खनालले भन्नुभयो, ‘समितिमा इन्स्पेक्टर, सुबेदार मेजर, हवलदार मेजर, सिपाही दर्जाका महिला, पुरुष प्रहरी र लेखापाल गरी  सात सदस्य छन् ।’ 

समितिको सरसल्लाहमा सिपाही र हवलदार तहका कर्मचारीको हित हुने खालका कार्यक्रममा रकम खर्च गर्ने गरिएको डीएसपी प्रकाश दाहालले बताउनुभयो । चालु आर्थिक वर्षदेखि प्रोत्साहनबापत प्राप्त हुने रकम आन्तरिक कल्याणकारी कोषमा जम्मा गर्न थालिएको उहाँले जानकारी दिनुभयो । कोषमा जम्मा भएको रकमबाट गएकाे मङ्सिरमा सिपाही र हवलदार तहका दुई सय जनालाई ट्र्याकसुट वितरण गरिएको डीएसपी दाहालले बताउनुभयो । मङ्सिरयता जम्मा भएको एक लाख ५७ हजार एक सय ७० रुपैयाँ खर्च गरेर जुनियर तहका कर्मचारीलाई ८० थान म्याट्रेक्स वितरण गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालयबाहेक जिल्लाका अन्य प्रहरी इकाइले पनि प्रोत्साहन रकम जुनियर तहका कर्मचारीको कल्याणमा एसपी खनालले बताउनुभयो । नदीजन्य पदार्थको अवैध निकासी रोक्नका लागि जिल्लाका पालिकाले प्रहरीको सहयोग लिँदै आएका छन् । सबैजसो पालिकाले सङ्कलन भएको कुल जरिबाना रकमको १५ प्रतिशत रकम सम्बन्धित प्रहरी चौकीलाई उपलब्ध गराउँदै आएका छन् ।

यस्तै जिल्ला अदालतले पक्राउ परेका फरार अभियुक्तबाट असुल भएको जरिबाना रकमको २५ प्रतिशत रकम प्रहरीलाई प्रोत्साहन स्वरूप उपलब्ध गराउने गरेको छ । यो रकम एकमुष्ट रूपमा आन्तरिक कल्याणकारी कोषमा जम्मा गर्न थालिएको हो ।

यसबाहेक विभिन्न परीक्षामा सुरक्षा दिँदा पनि प्रहरीले प्रोत्साहन रकम प्राप्त गर्छ । राजस्वमा दाखिला गर्नुनपर्ने यस्तो रकम यसअघि पारदर्शी रूपमा खर्च हुन नसकेको प्रहरी भित्रैबाट गुनासो आउने गरेको थियो । अब गुनासो नआउने गरी प्रणाली बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया