सार्वजनिक जग्गामा बनाइएका संरचनाको पनि मुआब्जा दिनुपर्छ : बूढीगण्डकी प्रभावित क्षेत्रका जनप्रतिनिधि

 माघ १९, २०७८ बुधबार १९:४९:१५ | किरण लोहनी
unn.prixa.net

गोरखा –  बूढीगण्डकी जलविद्युत् आयाेजना प्रभावित क्षेत्रका जनप्रतिनिधिले सार्वजनिक जग्गामा बनाइएका घर टहराको पनि मुआब्जा दिनुपर्ने माग गरेका छन् । आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङका जनप्रतिनिधिको आज बुधवारको बैठकले सार्वजनिक जग्गामा घर टहरा बनाएर बसोबास गर्दै आएकालाई वडाको मुचुल्काका आधारमा मुआब्जा दिनुपर्ने माग राखेको हो ।

यस्तै घरगोठ र बोटबिरुवाको मुआब्जा वितरण गर्नुअघि वातावरणीय प्रतिवेदनका आधारमा पुनर्वाससम्बन्धी नीति सार्वजनिक गर्नुपर्ने, जग्गा भाडामा लिइ निर्माण गरिएका संरचनाको मुआब्जा दिने निर्णय गर्न पनि जनप्रतिनिधिले बूढीगण्डकी आयोजना कार्यालयको ध्यानाकर्षण गराएका छन् । २०६९ सालदेखि अहिलेसम्म निर्माण भएका र निर्माणको क्रममा रहेका संरचनाको पनि मुआब्जा दिनुपर्ने उनीहरूकाे माग छ । 

छुटेका भौतिक संरचनाको लगत सङ्कलनका लागि फेरि सर्वेक्षण गर्न, घरगोठ–बोटबिरुवाको मुआब्जा निर्धारण गर्नुअघि प्रस्तावित मूल्य सार्वजनिक गर्न तथा गोरखा र धादिङतर्फको मुआब्जा दर समान हुने गरी निर्धारण गर्न पनि आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । 

बैठकमा गोरखाको आरुघाट, भीमसेन थापा, गण्डकी, शहीद लखन गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी, ज्वालामुखी, सिद्धलेक गाउँपालिका र नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको थियो । छलफलमा बूढीगण्डकी जलविद्युत् आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइका जनप्रतिनिधिको पनि सहभागिता रहेको भीमसेन थापा गाउँपालिका ४ का अध्यक्ष मदनकुमार शाक्यले बताउनुभयो । 

बूढीगण्डकी आयोजनाको डुबानमा पर्ने भौतिक संरचना, फलफूल र बोटबिरुवाको मुआब्जा वितरणको प्रक्रिया सुरु हुनै लाग्दा प्रभावित क्षेत्रका जनप्रतिनिधिले विभिन्न माग अघि सारेका हुन् । आयोजना अन्तर्गतको इकाइले डुबान क्षेत्रमा पर्ने घरगोठसहितका संरचना, बोटबिरुवा र फलफूलको लगत सङ्कलन गरिसकेको छ । इकाइले साविकको भवन अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइको सहयोगमा घरगोठसहितका संरचनाको लगत सङ्कलन गरेको हो । इकाइका सूचना अधिकारी एवम् इन्जिनियर रितेश रावलका अनुसार २४ हजार पाँच सय ५५ संरचनाको लगत सङ्कलन गरिएको छ । जसमा घरगोठसहित कुखुरा र बाख्राको खोर, धन्सार, शौचालय, पाली, टौवा लगायतका संरचना समावेश गरिएको छ । 

यस्तै कृषि ज्ञान केन्द्र नेतृत्वको कार्यदलले फलफूलको लगत सङ्कलन गरेको हो । कार्यदलले डुबान क्षेत्रभर चार लाख ६३ हजार एक सय ४९ फलफूलका बिरुवाको मुआब्जा दिनुपर्ने जनाएको छ । जसमा आँप, केरा, निबुवा, सुन्तला सहित ३० प्रजातिका फलफूलको विवरण सङ्कलन गरिएको हो । यस्तै डिभिजन वन कार्यालयले डुबानमा पर्ने बोटबिरुवाको विवरण सङ्कलन गरेको हो । त्यस विवरणअनुसार ४९ प्रजातिका तीन लाख ६२ हजार पाँच सय ६३ बोटबिरुवाको मुआब्जा दिनुपर्ने देखिएको छ । घरगोठ, फलफूल, बोटविरुवाको प्रति इकाइ कतिका दरले मुआब्जा दिने भन्नेबारे पनि आन्तरिक गृहकार्य भइरहेकाे बूढीगण्डकी आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइले जनाएको छ । गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला मुआब्जा निर्धारण समितिले भौतिक संरचना र बोटबिरुवाको प्रति इकाइ मूल्य निर्धारण गर्नेछ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया