मेयरले एकलौटी ढङ्गले रकमान्तर गरी बजेट बाँडेको भन्दै ६ वडाध्यक्षले गरे बैठक बहिष्कार

 माघ २०, २०७८ बिहिबार १६:२८:३६ | किरण लोहनी
unn.prixa.net

गाेरखा – नगरपालिकाका मेयरले राजनीतिक पूर्वाग्रह राखेर चालु योजनाको रकमान्तर गरी नयाँ योजना छनाेट गरेको भन्दै गोरखा नगरपालिकाका ६ जना वडाध्यक्षले असन्तुष्टि जनाएका छन् । भाेलि शुक्रवार हुने नवौँ नगर सभाबाट पास गर्ने गरी नगरपालिकाका मेयर राजनराज पन्तले विभिन्न योजनामा रकम बाँडफाँड गर्नुभएकाे थियाे ।

आज बिहीवार भएको नगर सभाको तयारी बैठकमा पन्तले छनाेट भएका नयाँ योजना र बजेटबारे जानकारी गराउनुभएकाे थियाे । आफूहरूसँग छलफल नै नगरि कतिपय चालु योजनाको रकमान्तर गरिएको र आफूखुसी नयाँ योजनामा रकम बाँडफाँड गरिएको विरोधमा तयारी बैठक बहिष्कार गरिएको वडा नम्बर ११ का अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । ‘तत्काल त्यसलाई सच्याएर मात्रै अघि बढ्न आग्रह गर्‍याैँ तर बहुमतको बलमा पेलेर जाने मनस्थिति देखिएपछि हामी तयारी बैठक छोडेर हिँडेका हौँ’, खड्काले भन्नुभयो, ‘बजेट बाँडफाँडका क्रममा हामी नगर कार्यपालिकाका सदस्यसँग भन्दा पनि आफ्ना पार्टीका नेता कार्यकर्तासँग सल्लाह गरेर योजना छानिएको छ, यसलाई स्वीकार्न सकिन्नँ ।’ 

मेयर पन्तले एक करोड ४६ लाख रुपैयाँ बजेटका नयाँ योजना छान्नुभएकाे हाे । जसमा कतिपय नगरस्तरीय र धेरैजसो वडास्तरीय योजना रहेका छन् । ‘पहिलो नगर सभाबाट स्वीकृत भएका तर अहिलेसम्म सम्बोधन नभएका योजनामा बजेट हालौँ भन्ने हाम्रो माग हो’, वडा नम्बर ३ का अध्यक्ष रामबाबु बोगटीले भन्नुभयो, ‘हाम्रो वडाको माग के छ भनेर त हामीसँग पो सल्लाह हुनुपर्ने थियो, अधुरा योजनामा पैसा पुगिरहेको थिएन तर उहाँ एकलौटी रूपमा अघि बढ्नुभयो ।’ आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरेर मेयर पन्तले टुक्रे योजनामा पैसा छरेको तयारी बैठक बहिष्कार गरेका वडाध्यक्षको भनाइ छ ।  

गोरखा नगरपालिकाका १४ वडाध्यक्षमध्ये नेकपा माओवादी केन्द्रबाट निर्वाचित तीन जना र नेकपा एमालेबाट निर्वाचित तीन जना वडाध्यक्षले बैठक बहिष्कार गरेका हुन् । आफ्ना माग र असन्तुष्टिसहितको धारणा नगरपालिकामा लिखित रूपमा बुझाउने र सम्बोधन नभए भोलिकाे बैठक चल्न नदिने उनीहरूको धारणा छ ।  

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भने नयाँ योजनामा बजेट बाँडफाँडको विषय छलफलकै क्रममा रहेको बताउनुभयो । कोभिड– १९ सङ्क्रमणका कारण कार्यान्वयन हुन नसकेकासहित केही योजनाको रकमान्तर गरी नयाँ योजनामा खर्च गर्न लागिएको उहाँको भनाइ छ । वडाध्यक्षहरूले बैठक बहिष्कार नगरेको प्रमुख प्रशासकीय अधिकृत पन्तको दाबी छ । उहाँले भन्नुभयो, ‘बैठक स्थगित भएको हो, उहाँहरूले खाना खान गएको भनेर खबर गर्नुभएको छ ।’ तयारी बैठक बहिष्कार गरेका वडाध्यक्षहरूले कार्यपालिका सदस्यहरूका लागि तयार पारिएको खाना पनि बहिष्कार गरेका हुन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया